प्रमुख दलहरुले रोजगारी बढाउने तर्फ आर्थिक एजेन्डा बनाउनु पर्ने

मकवानपुर, २१ फागुन २०७३ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले प्रमुख दलहरुले आफ्नो व्यवहार र भूमिकालाई आत्मसमीक्षा गरेर स्वदेशमा स्थापित उद्योगमा आन्दोलन, बन्द र हडताल गर्ने क्रमलाई रोकेर स्वदेशमा बढी रोजगारी उपलब्ध गराउनेतर्फ आर्थिक एजेन्डा बनाउनुपर्ने बताउनुभएको छ ।

उहाँले मकवानपुर उद्योग वाणिज्य सङ्घको स्वर्ण महोत्सव तथा ५०औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै राष्ट्रमा रहेका राजनीतिक दलहरुको भ्रातृ सङ्गठनलाई आन्दोलन र हडताल मात्र गर्ने होइन स्वदेशमै बहुराष्ट्रिय कम्पनीहरु स्थापना गर्नेतर्फ वातावरण बनाउँदै आर्थिक समृद्धिका लागि दलहरुका बीचमा सहमति गर्नुपर्दछ भन्नुभयो ।

सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, सांसदद्वय गणेश थापा र अनन्त पौडेलले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजारको संरचनालाई दायाँबायाँ २५ मिटरको सडक भत्काउन नहुने उल्लेख गर्दै सरकारले छुट्टै बाइपास सडक निर्माण गरी हेटौँडा औद्योगिक क्षेत्रलाई बहुराष्ट्रिय कम्पनी स्थापना गर्न सरकारले जग्गा उपलब्ध गराउनुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरुले पनि आफ्नो घोषणापत्र र भूमिकामा परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।

मकवानपुर उद्योग वाणिज्य सङ्घद्वारा स्व अध्यक्ष प्रेमलाल श्रेष्ठको स्मृतिमा स्थापना गरिएको ‘क्रियाशील पत्रकारिता पुरस्कार’बाट मकवानपुर जिल्लामा कार्यरत पत्रकारहरु हरि हुमागाईं, रुवेश दुलाल, धर्मेन्द्र दाहाल र सुजन बिडारीलाई महासङ्घका अध्यक्ष मुरारकाले नगद रु १० हजार र दोसल्ला ओढाइ सम्मान गर्नुभयो ।

सो अवसरमा मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार न्यौपानेले हेटौँडा–काठमाडौँ जोड्ने सुरुङमार्ग निर्माणलाई सरकारी प्राथमिकतामा राख्न सङ्घले आफ्नो कार्यक्रमलाई अगाडि बढाएको बताउनुभयो ।

 

  • 44Read This News:
  • 509145Total reads:
  • 312431Total visitors: