२४ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट राँकी सम्मानित

धनुषा, १६ साउन २०७५ । विगत एक दशकदेखि मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा क्रियाशील यमुनामाइ गाउँपालिका–५, रौतहटका राँकीलाई ‘प्रकाश मानव अधिकार पुरस्कार २०७४’ बाट सम्मानित हुनु भएको छ । पुरस्कृत व्यक्तित्व राँकीलाई सम्मानपत्र सहित ५० हजार रुपियाँ नगद प्रदान गरिएको छ ।

समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार मानव अधिकार संरक्षणको लागि प्रतिबद्ध रहेको बताउनु भयो । मुख्यमन्त्री राउतले समाजिक न्यायको लागि मानव अधिकारको संरक्षण आवश्यक रहेकोले प्रदेश सरकारले चाँडै मानव अधिकार संरक्षण ऐन ल्याउन लागेको जानकारी दिनुभयो ।

समाजिक विकृतिहरूले मानव अधिकारलाई चुनौति दिँदै आएको उल्लेख गर्दै उनले समाजिक विकृति अन्त्यको लागि महिला शिक्षित हुनु आवश्यक रहेको औँल्याउनु भयो । उहाले भन्नु भयो–‘महिला शिक्षित नभएसम्म समाजिक विकृति अन्त्इ हुन सक्दैन । त्यसैले प्रदेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई प्राथमिकतामा राखेर अघि बढेको छ ।’

मानव अधिकार आयोग समावेशी नभएकै कारण आयोगको काम कर्तव्य प्रति प्रश्न उठ्ने गरेको टिप्पणी गर्दै मुख्यमन्त्री राउतले मानव अधिकार आयोगलाई समावेशी बनाउन सम्बन्धित पक्षसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साहले अब २१ औँ शताब्दीको युग महिलाको युग भएको बताउँदै आउने दिनमा छोरालाई होइन छोरीलाई दाइजो दिनु पर्ने स्थिति सृजना हुने बताउनु भयो ।

कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले देश सङ्घीय ढाँचामा गए अनुसार इन्सेकले आफ्ना कार्यालयलाई त्यसै अनुसार परिचालित गर्दै आएको बताउनु भयो । उहाँले मानव अधिकारका विषयहरूलाई प्रदेशगत आधारमा वकालत गर्ने इन्सेकले उद्देश्य राखेको समेत बताउनु भयो।

अध्यक्ष प्याकुरेलले पुरस्कृत व्यक्तित्व राँकीको कामको प्रशंसा गर्नुहुदै आजसम्म पुरस्कार पाउनेहरू बढी मधेशी समुदायको रहेको जिकिर गर्नुभयो । प्रदेश २ को सरकारले ल्याएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सारै सरहानीय रहेको बताउनुहुदै यस अभियानको परिणाम कलान्तरमा देखिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा राष्ट्रपतिका मानव अधिकार तथा राजनीतिक विज्ञ एवम् इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले आपूmलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारका मुख्यमन्त्रीलाई ‘बेटी पढाउ र बेटी बचाउ अभियान सञ्चालन गरेकोमा विशेष धन्यवाद सन्देश पठाएको बताउनु भयो ।

संस्थापक अध्यक्ष प्याकुरेलले छोरी शिक्षित भए परिवार शिक्षित हुने र समाज शिक्षित हुने बताउनु भयो । उक्त कार्यक्रममा प्रदेश २ सरकारका मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, शिक्षाविद डा. सुरेन्द्र लाभ, प्रदेश २ सांसद सुनितादेवी मोची, पूर्व सभासद रामरति राम, बसन्ती देवी झा सहितको उपस्थिति रहेको थियो ।

इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको स्मृतिमा २०५१ सालमा स्थापित ‘प्रकाश मानव अधिकार पुरस्कार’बाट यसअघि २३ जना सम्मानित भइसकेका छन् । थाइ एयरबसको विमान नुवाकोटको घोप्टेभीरमा ०४९ साउन १६ गते दुर्घटना हुँदा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको निधन भएको थियो ।

 

  • 62Read This News:
  • 502645Total reads:
  • 306123Total visitors: