हिमवत्खण्ड सम्मिलनमा बहुभाषिक कविता र हास्य साँझ

काठमाडौँ, ३१ असार २०७५ । आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्म जयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत शनिवार बहुभाषिक कविता वाचन र हास्यव्यङ्य साँझ सम्पन्न भयो ।

स्वदेश र विदेशका गरी करीब ३०० साहित्यकार एवं कलाकार सहभागी सम्मिलनमा नेपाली, नेपाल भाषा, मैथिली, वान्तवा, चाम्लिङ, वाम्बुले, मगर, लिम्बू, अवधि, भोजपुरी, थारु, गुरुङ, डोटेली, संस्कृत, चेपाङ, धिमाल, माझी, अंग्रेजीलगायत भाषामा कविहरुले कविता वाचन गर्नुभएको थियो ।

राष्ट्रिय हास्यव्यङ्य कलाकारहरु मनोज गजुरेल, सीताराम कट्टेल, कुञ्जना घिमिरे, राजा राजेन्द्र पौडेल, जितु नेपाल, लक्ष्मण गाम्गानेले समसामयिक चेतनायुक्त प्रस्तुतिमार्फत मनोरञ्जन दिनुभएको थियो । उहाँहरुले नेपाली भाषा संकटमा पर्न थालेको, समाज अति आधुनिकतावादमा फसेको, नेपाली भूमि छिमेकीको अतिक्रमणमा परेका विषयलाई रोचक ढंगले प्रस्तुत गर्नुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रिय नाचघरमा उद्घाटन गर्नुभएको सम्मिलनको आज पर्यटकीयस्थल चन्द्रागिरिमा समापन हुनेछ ।

सम्मिलनमा बेलायत, जापान, भुटान, थाइल्याण्ड, रुस, फ्रान्सलगायत मुलुकका साहित्यकारको सहभागिता छ । भारतको गुवाहाटी, उत्तराखण्ड, सिक्किम, कोलकाता, हिमाञ्चल प्रदेश, देहरादुन, दार्जिलिङ, वाराणसी, विहार, सिलाङलगायत स्थानबाट साहित्यकारहरुको सहभागिता रहेको छ ।

 

  • 55Read This News:
  • 485194Total reads:
  • 290217Total visitors: