रोल्पामा १ हजार ६७४ जनालाई अपाङ्गता परिचय पत्र वितरण

रोल्पा, २८ कात्तिक २०७३ । महिला तथा बालबालिका कार्यालय रोल्पाको तथ्याङ्कअनुसार २०६६ देखि हालसम्म जिल्लामा कुल १ हजार ६७४ जनाले अपाङ्गता परिचयपत्र पाइसकेको कार्यालयले जनाएको छ ।

जसअन्तर्गत ‘क’ वर्गका पूर्ण अशक्त ११५ जना, ‘ख’ वर्गका अति अशक्त ४६५ जना, ‘ग’ वर्गका मध्यम अशक्त ४८६ जना र ‘घ’ वर्गका सामान्य अशक्त ६०८ जना गरी जिल्लामा जम्मा १ हजार ६७४ जनाले अपाङ्गता परिचयपत्र पाएको सहायक महिला विकास निरीक्षक हिरा वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस आवको साउन महिनादेखि हालसम्म भने पूर्ण अशक्त ४, अति अशक्त १५, मध्यम अशक्त १० र सामान्य अशक्त सात गरी जम्मा ३६ जनाले अपाङ्गता परिचयपत्र पाएका छन् ।

शारीरिक अपाङ्गता भएका व्यक्ति, दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्ति, सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति, स्वर बोलाईसम्बन्धी अपाङ्गता भएका व्यक्ति तथा मानसिक अपाङ्गता भएका एवम् बहुअपाङ्गता भएका व्यक्तिले मात्र अपाङ्गता परिचयपत्र पाउने अर्का सहायक महिला विकास निरीक्षक युवती आचार्यले जानकारी दिनुभयो ।

यसरी कार्यालयबाट परिचयपत्र पाएका ‘क’ वर्गका पूर्ण अशक्तले मासिक रु २ हजार, ‘ख’ वर्गका अति अशक्तले मासिक रु ६०० तथा ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिले सरकारबाट प्रदान गर्ने अन्य सुविधा पाउने गरेको भए पनि उपचार, यातायातलगायतका अन्य सुविधा भने पाउन नसकेको अपाङ्गता भएका व्यक्तिहरुले गुनासो गरेका छन् ।

 

  • 47Read This News:
  • 505120Total reads:
  • 308492Total visitors: