राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ, २४ साउन २०७४। राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेश समस्या समाधान गर्न सरकार उदासीन रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन आज फिर्ता लिएको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्न राष्ट्रिय एकता दिवस मनाउन राप्रपाले गरेको आग्रहलाई उपेक्षा गरेको, पार्टीलाई विभाजन गर्न परोक्ष भूमिका निर्वाह गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले राष्ट्रवादी एवं हिन्दू राष्ट्र पक्षधर शक्ति बलियो भएको देख्न नचाहने पक्षले पार्टी विभाजनको प्रयास गरेको दाबी गर्नुभयो ।

सो पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणासहित ६४ केन्द्रीय सदस्यले निर्वाचन आयोगमा नयाँ पार्टी ‘राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातन्त्रिक०’ कायम गर्न दिएको निवेदनमा सात केन्द्रीय सदस्य नरहेको र केही व्यक्तिको कीर्ते हस्ताक्षर गरिएको र केही व्यक्ति पार्टीको मूल प्रवाहमा नै रहेको उहाँले बताउनुभयो ।

पार्टीको विधानमा १६५ केन्द्रीय सदस्यको व्यवस्था भएको र त्यसको ४० प्रतिशत सङ्ख्या राणा समूहसँग नपुगेकाले सो निवेदन खारेज गर्न निर्वाचन आयोगसँग बैठकले माग गरेको छ ।

सोमबारदेखि सुरु भएको सो बैठक बुधबार बिहान ९ बजे पुनः बस्नेछ । सो पार्टीका ३७ सांसद रहेकामा केही राणा समूहमा रहेको जनाइएको छ ।

 

  • 41Read This News:
  • 502849Total reads:
  • 306326Total visitors: