यू–१९ क्रिकेट टोली एशिया कपमा सहभागी हुने

काठमाडौँ, २१ कात्तिक २०७४ । मलेसियामा हुने एशिया कप १९ वर्षमुनि (यू–१९) क्रिकेट प्रतियोगितामा लागि नेपाली युवा टोलीले भाग लिने भएको छ ।

१५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली प्रतियोगिताको तयारीका लागि बंगलादेशमा पुगी तीन अभ्यास खेल खेलेर सोमबार मात्र नेपाल आइपुगेको टेक्निकल एनालिष्ट रमन शिवाकोटीले जानकारी दिनुभयो ।

सहभागी खेलाडीमा कप्तान दीपेन्द्रसिंह ऐरीसहित सन्दीप लामिछाने, असिफ शेख, अनिलकुमार शाह, पवन सर्राफ, सन्दीप सुनुवार, रोहितकुमार पौडेल, किशोर महतो, प्रनीत थापा मगर, साहब आलम, कमल सिंह, प्रकाश केसी, जीतेन्द्र सिंह, भीम सार्की र रसिद खान छन् ।

टोलीका मुख्य प्रशिक्षकमा विनोद दास र सहायक प्रशिक्षक कलम अली छन् । नेपालले आफ्नो पहिलो खेल यही कात्तिक २५ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी दोस्रो खेल कात्तिक २६ गते भारतसँग तथा समूह चरणको अन्तिम खेलमा कात्तिक २८ गते आयोजक मलेसियाको सामना गर्नेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा आयोजक मलेसियासहित बंगलादेश र भारत तथा समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र अफगानिस्तान छन् । गत महिना मलेसियामा नै भएको इस्टर्न रिजन च्याम्पियनसिपमा नेपाल च्याम्पियन बन्दै यू–१९ एसिया कपका लागि छनोट भएको हो ।

 

  • 49Read This News:
  • 506131Total reads:
  • 309452Total visitors: