भारतको महाराष्ट्रमा स्वाइन फ्लुबाट मर्नेको संख्या ३०२ पुग्यो

PHOTO: HINDUSTAN TIMES

भारत, १६ कात्तिक २०७५ । भारतको महाराष्ट्र राज्यमा यसवर्ष हालसम्म स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३०२ पुगेको राज्यका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

राज्यका स्वास्थ्य निरीक्षण अधिकृत प्रदीप आवटेले स्वाइन फ्लुबाट प्रभावित ३ सय २५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राज्यमा यसवर्षको हालसम्म ३०२ जनाको मृत्यु भइसकेको विवरण प्राप्त भएको छ । अस्पतालमा उपचार गराइरहेकामध्ये २२–२३ जनाको अवस्था गम्भीर रहेको छ ।”

उहाँले जनवरीदेखि अक्टोबरसम्म विभिन्न किसिमका फ्लुबाट महाराष्ट्र राज्यमा २ हजार ३७५ मानिस बिरामी भएको बताउनुभयो ।

“तैपनि, यो वर्ष स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्यामा निकै कमी आएको हो । सन् २०१७ मा करिब सात सयको मृत्यु भएको थियो । यो वर्ष स्वाइन फ्लुका बिरामी जुलाई, अगष्ट र सेप्टेम्बर महिनामा बढी देखिएका थिए,” आवटेले बताउनुभयो ।

उहाँले मधुमेह भएका र उच्च तनाव झेलिरहेका बिरामी सबैभन्दा बढी जोखिममा रहेको बताउनुभयो । “मधुमेह र उच्च तनाव भएका मानिसमा कुनै किसिमले आकस्मिक खोकी लाग्ने वा चिसो लागेमा स्वास्थ्य परीक्षणका लागि तत्काल चिकित्सकलाई देखाउनु पर्दछ । यस्ता मानिसमा स्वाइन फ्लुले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । रोग लागेको दुई दिनभित्रै उपचार शुरु गरिए चाँडो निको हुने सम्भावना बढी हुन्छ ।”

डा आवटेले रुघाखोकी लागेका व्यक्तिहरु अरु मानिसको सम्पर्कबाट टाढै रहनुपर्ने सुझाव दिँदै चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “रुघाखोकी लागेका मानिस सार्वजनिक स्थलमा नगएको राम्रो हुन्छ । चलचित्र हेर्न हलमा पनि जानु हुँदैन । स्वाइन फ्लु भएका केबल ५ देखि ६ जना व्यक्ति मात्र उपचारका लागि अस्पतालमा भर्ना हुने गरेका छन् । अरु मानिसको घरमै उपचार गर्न सकिन्छ । तर, कुनै पनि औषधि सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनै पर्दछ ।”

 

  • 51Read This News:
  • 501872Total reads:
  • 305404Total visitors: