जर्मनीमा विभिन्न क्षेत्रमा गरी यस बर्ष पाँच लाख रोजगारी थप्नु पर्ने

जर्मनी, ३० जेठ २०७४। जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीले सोमबार सार्वजनिक गरेको एक सर्वेक्षण प्रतिवेदन अनुसार जर्मनीमा सन् २०१७ भरीमा पाँच लाख रोजगारी थप्नु पर्ने भएको छ ।

अघिल्लो बर्षको तुलनामा यस बर्ष स्वास्थ्य क्षेत्रमा मात्रै एक लाख ३० हजार रोजगारी थपिने छ । बुढाबुढीहरुको संख्या बढ्दै गएकाले उनीहरुको हेरचाहका लागि स्वास्थ्य क्षेत्रका जनशक्तिको आवश्यकता बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी खाद्य सेवा, विज्ञापन एजेन्सी, अनुसन्धान फर्म लगायतका कार्यालयहरुले झण्डै एक लाख ३० हजार रोजगारी सृजना गर्ने अनुमान गरिएको छ ।

सर्वेक्षण गरेको संस्थाका निर्देशक मार्टिन वान्सलेबेनले त्यस बाहेक अन्य १ लाख पद व्यापारिक क्षेत्र, यातायात क्षेत्र र पर्यटन क्षेत्रबाट सृजना हुने बताउनु भयो । उहाँले शिक्षा क्षेत्रले झण्डै ५० हजार जनालाई रोजगारी दिने विश्वास व्यक्त गर्नुभयो ।

“डिजिटल प्रविधिको प्रयोग सम्वन्धी तालिम र शरणार्थीहरुलाई योग्यता बढाईदिने कार्यको अत्यधिक धेरै माग भएकाले शिक्षा क्षेत्र नाफाका दृष्टिकोणले आकर्षक क्षेत्र भएको छ,” उहाँले भन्नुभयो ।

अपेक्षित रोजगारीका लागि निर्माण उद्योगबाट ३५ हजार पद थपिन सक्ने छ । न्युन व्याजदर र घर निर्माण कार्य बढ्दै गएकाले यस क्षेत्रमा पनि रोजगारी बढ्न सक्ने अनुमान गरिएको छ ।

 

  • 110Read This News:
  • 502235Total reads:
  • 305747Total visitors: