इरान कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु भएको पुष्टि

इरान, १ माघ २०७५ । इरानको राजधानी तेहराननजिकै भएको कार्गो विमान दुर्घटनामा विमानमा यात्रारत १५ जनाले ज्यान गुमाएका इरानी स्टुडेन्ट न्यूज एजेन्सी (आइएसएनए) ले जनाएको छ ।

कराजस्थित फाथ विमानस्थलमा खराब मौसमका बेला अवतरणका क्रममा बोइङ ७०७ विमान धावनमार्गबाट चिप्लिएर नजिकै रहेको आवासीय क्षेत्रमा एउटा भवनमा जोतिन पुगेको थियो । घटनास्थल तेहरानदेखि ४० किलोमिटर पश्चिममा पर्छ ।

काराजको पायम विमानस्थलमा अवतरण गरिनुपर्ने उक्त विमान अकस्मात फाथ विमानस्थलमा अवतरण गराइएको इरान रेड क्रिसेन्ट सोसाइटीका प्रमुख नासिर कार्खसाजलाई उद्धृत गरी आइएसएनएले जनाएको छ ।

इरानी सेनाका अनुसार विमानमा रहेका १६ जनामध्ये एक उडान इन्जिनियरलाई मात्रै जीवित अवस्थामा फेला पारिएको छ । उपचारका लागि उनलाई अस्पताल पुर्या इएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उक्त कार्गो विमानले किर्गिजस्तानको राजधानी बिश्केकबाट मासु बोकेर उडेको थियो ।

दुर्घटनाग्रस्त कार्गो विमानको सञ्चालकबारे चाहिँ थाहा हुन सकेको छैन । इरानको नागरिक उड्डयन निकायका एक प्रवक्ताले विमान किर्गिजस्तानको भएको बताएका छन् । तर किर्गिजस्तानको मानास विमानस्थलले उक्त विमान इरानको पायाम एअरबाट सञ्चालनमा रहेको बताएको छ ।

 

  • 25Read This News:
  • 259001Total reads:
  • 129095Total visitors: