आमाको किरिया गर्दै दुई छोरी

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ जसपुरकी तारा बिकको निधन पछि आमाको किरिया बसेकी छोरीहरु ।

दाङ, १८ पुस २०७५ । छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि उहाँकी दुई छोरी १८ वर्षीया आराधना र ११ वर्षीया सदीक्षा आमाको काजकिरियामा बस्नुभएको छ ।

छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै तीन छोरीमध्ये जेठी र माइली छोरी किरियामा बसेका हुन् । आमा विकको १५ गते सोमबार निधन भएको र किरिया गर्ने कोही नभएपछि छोरीहरूले नै दागबत्ती दिएका हुन्, किरिया पनि छोरीहरूले नै गरेका छन् ।

आमा ताराको मङ्गलबार शीतलपुर घाटमा अन्त्येष्टि गरिएको हो । जेठी छोरी आरधनाले दाङ देउखुरीको राप्ती प्राविधिक शिक्षालय लालमटियामा छात्रवृत्ति कोटामा सिएमए पढ्दैहुनुहुन्छ । त्यस्तै माइली सदीक्षाले अमर मावि उरहरीमा कक्षा ८ र कान्छी छोरी प्रतीक्षाले दिव्यज्योति बोर्डिङ स्कूल तुलसीपुरमा कक्षा ५ मा अध्ययन गर्दै आएकी छिन् ।

श्रीमान् हिरालाल विदेशबाट घर फर्केको १० दिनपछि ताराको निधन भएको हो । दमका कारण उनको मृत्यु भएको हो । समाजमा छोरा र छोरीबीच हुने विभेदलाई चुनौती दिँदै आफूहरू किरिया बसेको आरधनाले बताउनुभयो । “छोरासरहको कर्म बुबाआमाले हामी छोरीलाई पनि दिनुभएको छ”, उहाँले भन्नुभयो, “त्यसैले छोराहरूले गर्न सक्ने काम हामीहरू पनि गर्न सक्छौँ भन्ने लागेर किरिया बसेका हौँ ।”

समाजले काजकिरियाका लागि घरभन्दा बाहिरका दाजुभाइलाई ल्याउने तयारी गरेको भए पनि आफ्नो आमाको किरिया छोरीले नै गर्नुपर्छ भनेर किरिया बसेको उहाँको भनाइ छ । उहाँहरूले किरिया गर्दा कपाल खौरनेबाहेक अरु सबै गर्दै आउनुभएको छ । तर समाजमा अझै पनि छोरीहरू किरिया बस्ने चलनलाई अस्वाभाविक मानिँदै आएको छ ।

 

  • 29Read This News:
  • 506594Total reads:
  • 309906Total visitors: