आठौं हेम्जा आलु महोत्सव सुरु, मेला अवधिभर आलु ३२ रुपैयाँ प्रतिकिलोमा विक्रि गरिने

कास्की, २३ फागुन २०७३। आजदेखि कास्की जिल्लाको हेम्जामा आठौँं  हेम्जा आलु महोत्सव सुरु भएको छ ।

“सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ ,आलु एक परिकार अनेक”भन्ने मूलनाराका साथ विष्णुपादुका क्लबको आयोजनामा हेम्जाको विष्णु पादुका खेल मैदानमा हुने सो महोत्सव चैत १ गतेसम्म चल्ने छ ।

महोत्सवस्थलमा २१ कृषकबाट उत्पादित ३० टनको ठूलो आलुको पहाड निर्माण गरिएको छ । आलुको थुप्रो (पहाड)बाटै इच्छुक ग्राहकले प्रति किलो ३२ रुपैयाँमा आलु खरिद गरेर लानसक्ने संयोजक जयराम तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार महोत्सवस्थलको थुप्रोबाटै महोत्सव अवधिभर झन्डै २५ लाखको आलु बिक्री हुने अनुमान छ ।

महोत्सवमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शन, आलुका विभिन्न परिकार, बाल उद्यान, विविध सांस्कृतिक कार्यक्रम लोकदोहोरी तथा सांङ्गितिक समूहको प्रस्तुति, विभिन्न वेषभूषा झल्कने सांस्कृतिक कार्यक्रम, जापानिज सुन्तला तथा विभिन्न कृषि बीउ बिजन समेत प्रदर्शनी गरिएको छ ।

महोत्सवमा १२ वटा आलुका मात्र परिकार, ६० वटा व्यवसायीका उत्पादन, ३० वटा कृषि प्रविधि प्रदर्शनी, एक वटा प्राथमिक उपचार केन्द्र र एक वटा सूचना केन्द्र गरी १०४ वटा स्टल राखिएको छ । यसवर्ष हेम्जामा झन्डै ९ हजार मेट्रिक टन आलु उत्पादन भएको अनुमान गरिएको छ ।

हेम्जा र आसपासका गाउँका ६५० हेक्टरमा आलुखेती गरिन्छ भने यसवर्ष ६५० कृषकले व्यावसायिक रुपमा आलुखेती गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले शान्तिका प्रतिक परेवा उडाएर महोत्सव शुभारम्भ गर्नु भएको थियो ।

 

  • 65Read This News:
  • 509145Total reads:
  • 312431Total visitors: