अर्मेनिया, २७ चैत २०७४ । अर्मेनियाका प्रधानमन्त्री करेन कारापेट्यानले सोमबार पदबाट राजीनामा दिनुभएको छ ।
उहाँको राजीनामा राष्ट्रपति अर्मेन सार्कस्यानले बुझ्नुभएको अर्मेन प्रेस समाचार संस्थाले सम्प्रेषण गरेको समाचारमा जनाएको छ ।
अर्मेनियाको संविधानका अनुसार नयाँ राष्ट्रपतिको चयनसँगै बहालवाला प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ र संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्नुपर्छ । त्यसपछि प्रधानमन्त्रीले नयाँ सरकार गठन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
नयाँ मन्त्रिपरिषद् गठन नहुँदासम्म पुराना मन्त्रीहरु नै मन्त्रिपरिषद्को सदस्यका रुपमा कायमै रहने जनाइएको छ ।
अर्मेनियामा बहालवाला प्रधानमन्त्रीले राजीनामा दिएसँगै नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया शुरु भएको छ । यही अप्रिल १७ तारिखका दिन अर्मेनियाले नयाँ प्रधानमन्त्री पाउने अधिकारीहरुले बताएका छन् ।
संसद्ले नयाँ प्रधानमन्त्री चयन गरेपछि त्यसको १५ दिनमा मन्त्रिपरिषद् गठन गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।
अहिलेका राष्ट्रपति सार्कस्यान गत मार्च २ तारिखका दिन संसदवाट अत्यधिक मतका साथ निर्वाचित हुनुभएको हो ।


