अझवढी हिंउ परोस भनी कामना गर्छन नूनःखानी मजदुर 

अमेरिका, ६ फागुन २०७३ । सडकमा छर्ने नून (रोड सल्ट) उत्पादन गर्ने संयुक्त राज्य अमेरिकाको एउटा ठूलो कम्पनीका कामदार खानीको सुरुङ्गभित्र धमाधम काम गर्दै अमेरिकाका बढी से बढी सडक अझै हिउँले ढाकून भनी परमेश्वरसँग पुकारा पनि गरिरहेका छन् ।

कारण जति बढी हिउँ पर्यो त्यत्ति नै बढी रोड सल्टको माग आउँछ र मारामार काम गरे बापत आफ्नो खल्ती पनि टनाटन नगदले भरिन्छ ।

बाक्लो हिउँ परेपछि सडक यातायात अवरुद्ध हुने र यस्तो अवस्थामा हिउँले ढाकेको ठाउँभरी रोड सल्ट छर्नु नै तत्काल हिउँ पगाली यातायात खुलाउने सजिलो र कम खर्चिलो उपाय हो ।

यसैले गर्दा हिउँ पर्नासाथ स्थानीय नगरपालिकाले नून आपूर्ति गर्न खानीवालालाई ठूलो परिमाणमा अर्डर गर्छन् । अनि सुरु हुन्छ खानीका मजदूरहरुको हर्ष र फूर्ति ।

न्युयोर्क राज्यको माथिल्लो खण्डमा अवस्थित अमेरिकन रक सल्ट कम्पनीको जगजगी यस वर्ष निकै माथि उठ्यो ।

यस कम्पनीले, परापूर्व कालमा समुद्र रहेको तर अन्दाजी चालीस करोड वर्ष अघि सो समुद्र सुकेर लवण मरुभूमिमा परिणत भएको क्षेत्रमा सरकारी स्वीकृति प्राप्त गरी नून उत्खनन् तथा उत्पादन उद्योग सञ्चालन गर्दै आएको छ ।

नून उत्खनन् गर्दा हिजोआज यो क्षेत्र यति गहिरो भएर गएको छ कि हाल यसको गहिराई इम्पायर स्टेट बिल्डिङ्को उचाई बराबर छ ।

यस खानीको वार्षिक औसत ४३ लाख टनसम्म नून प्रसोधन र उत्पादन गर्ने क्षमता रहेकामा गत बर्ष त्यत्तिबिध्न हिउँ नपरेकाले कम परिमाणमा मात्र उत्पादन गर्यो । तर, यस वर्ष यस कम्पनीलाई कामको मारामार चाप परेको छ ।

अमेरिकाको कतिपय ठाउँमा अझै हिउँ पग्लि नसकेकाले नूनको बढ्दो माग निरन्तरछ र यहाँ कामगर्ने मजदूर पनि दङ्गदास छन् । ३ सय ५० जना मजदूर कार्यरत यस कम्पनीमा काममा व्यस्त रहनुपर्ने एउटा हिउँद ऋतुभरी प्रति ब्यक्ति औसत कमाइ पनि असी हजार अमेरिकी डलरभन्दा बढी नै रहने गरेको बताइन्छ ।

 

  • 28Read This News:
  • 504818Total reads:
  • 308260Total visitors: