दीर्घकालीन फोहर व्यवस्थापनका लागि बञ्चरेडाँडा छनोट

काठमाडौँ, १६ कात्तिक २०७४ । काठमाडौँ महानगरपालिकाले दीर्घकालीनरुपमा फोहर व्यवस्थापन गर्नका लागि बञ्चरेडाँडालाई छनोट गरेको छ ।

१३ वर्षअघि ५ वर्षका लागि भन्दै कामपाले नुवाकोटको ल्याण्डफिल साइडमा फोहर थुपार्दै आएको थियो, निर्धारित समयभन्दा ८ वर्ष समय नाघिसकेपछि कामपाले सिसडोलबाट २ किमी टाढा रहेको बञ्चरेडाँडालाई फोहर व्यवस्थापन गर्ने स्थानका रुपमा छनोट गरेको हो ।

कामपाका अनुसार अब करिब ६ महिनाभन्दा बढी सिसडोलमा फोहर संकलन गर्ने अवस्था छैन, त्यसैले बञ्चरेडाँडा नै अन्तिम विकल्पका रुपमा सोचिएको हो ।

आगामी ३० वर्षसम्मका लागि बञ्चरेडाँडामा ढुक्क भएर काठमाडौँ उपत्यकाको फोहर थुपार्न सकिने महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले बताउनुभयो ।

कामपाले उक्त स्थानमा फोहर संकलन गर्दा स्थानीयवासीलाई कुनै समस्या नआउने बताए पनि स्थानीयवासीले भने असन्तुष्ट व्यक्त गरेका छन् ।

काठमाडौँबाट फोहर ल्याउनका लागि दैनिक सयौँ गाडी आवतजावत गर्दा दैनिक खानपानमै समस्या भएको ल्याण्डफिल साइड नजिकै बसोबास गर्दै आउनुभएका मैना पुलामीले वताउनु भयो । फोहर थुपारेको स्थानबाट आएको गन्ध एकातिर छ भने अर्कातिर गाडीले निकालेको धुलोको समस्या थेग्न पनि हामी बाध्य भएका छौँ ।”

१ हजार ७०० रोपनीमा निर्माण गर्न लागिएको फोहर थुपार्ने स्थान बञ्चरेडाँडा धादिङ जिल्लाको धुनीबेँसी गाउँपालिका नगरपालिका र नुवाकोटको विदुर नगरपालिकाको सिमानामा पर्छ ।

हाल सिसडोलबाट बञ्चरेडाँडासम्म पुग्नका लागि सडक निर्माणको काम भइरहेको छ । फोहर लाने ठूला गाडी आवतजावत गर्नका लागि बाटो बनाउन काम सकेसँगै फोहर फल्नका लागि पुनःनिर्माणको काम गर्नुपर्ने हुन्छ ।
हाल काठमाडौँ उपत्यकाबाट दैनिक ८०० मेट्रिक टन फोहर नुवाकोटमा व्यवस्थापन हुँदै आएको छ । जहाँ निजी क्षेत्रका २०० र महानगरको ८० वटा गाडी फोहर बेक्नका लागि प्रयोग गरिन्छ ।

– शर्मिला पाठक/रासस

 

  • 31Read This News:
  • 459418Total reads:
  • 268929Total visitors: