मकवानपुर, २६ फागुन २०७३। भारतको कोलकाताका लागि नेपालका तर्फबाट महावाणिज्यदूत एकनारायण अर्यालले नेपालको ७० प्रतिशत व्यापार भारतसँग निर्भर रहेको बताउनुभएको छ ।
तेस्रो देश भन्दा पनि भारतसँग सबैजसो सामानमा अन्तरनिर्भर हुनुपरेकाले धेरै व्यापार भारतसँग हुने गरेको उहाँले बताउनुभयो । बुधबार मकवानपुर उद्योग वाणिज्य सङ्घले उहाँको स्वागत, सम्मान तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले नेपालको व्यापार भारतसँग हुने हुँदा आफू त्यस ठाउँमा पुगेकाले त्यसका समस्याको समाधान कसरी गर्न सकिन्छ त्यसतर्फ ध्यान दिने बताउनुभयो ।
मासिकरुपमा ५ हजार ५०० कन्टेनर नेपाल आउने हुँदा यसको व्यवस्थापन गर्न र सजिलै नेपाल भित्रने वातावरण तयार गर्नका लागि आफू तयार रहेको उहाँले बताउनुभयो ।
कोलकाताबाट नेपालसम्म सामान भित्रँदा तिर्नुपर्ने विभिन्न खाले कर, वीरगन्ज सुख्खा वन्दरगाहसम्म सामान आउन समस्या, सुख्खा वन्दरगाहमा लोडिङ अनलोडिङको समस्या, रेलवेको समस्या, भन्सारको समस्या जस्ता विषयमा उद्योगीले जानकारी गराएका थिए । उहाँले उद्योगीको समस्याको विषयमा आफू गम्भीर रहेको र समाधानतर्फ लाग्ने बताउनुभयो ।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको अन्तक्र्रिया कार्यक्रममा उद्योग संघ, हेटौँडाका अध्यक्ष नवराज अर्याल, उद्योग सङ्घ हेटौँडाका निर्वतमान अध्यक्ष ऋषिराम घिमिरे, सङ्घका कानुनी सल्लाहकार ईश्वरराज ढकाल, समाजसेवी सिद्धिलाल श्रेष्ठलगायत अन्य उद्योगका सञ्चालकले भारतबाट सामान आयात गर्दा भोग्नुपरेका समस्याका बारेमा महावाणिज्यदूत अर्याललाई जानकारी गराएका थिए ।


