झापा, २२ फागुन २०७३ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफ्नो पार्टीले सञ्चालन गरेको राष्ट्रिय अभियानलाई कुनै अवरोध नगर्न सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको उच्च नेतृत्वसँग आग्रह गरिएको बताउनुभएको छ ।
संविधान र निर्वाचनका लागि शनिवार देखि सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आजका कार्यक्रम सकिएपछि साँझ पत्रकार भेटघाट गरी भट्टराईले कुनै दल र व्यक्तिको विरोधमा आफ्नो अभियान नभएकाले यसलाई अवरोध गर्ने कुनै अवाञ्छित र अराजनीतिक गतिविधि गरिए सह्य नहुने जनाउनुभयो ।
“यो पृथ्वीनारायण शाहपछिको आधुनिक नेपाल एकीकरण अभियानको भाग–२ हो । राष्ट्रघातविरुद्धको अभियान पनि हो । यसमा कसैले चित्त नबुझे हाम्रो सभा भएको भोलिपल्ट त्योभन्दा ठूला कार्यक्रम गरेर आफ्ना कुरा जनतालाई भन्दा हुन्छ”– उहाँले भन्नुभयो, “मधेसी मोर्चा र मधेसका मुद्दा एकै सिक्काका दुई पाटा होइनन् । हामी मोर्चाले अघि सारेको संविधान संशोधनको मुद्दामा सहमत छैनौँ ।”
मोर्चाका कार्यकर्ताले आफ्ना सप्तरीका जिल्ला नेता प्रतापनारायण चौधरी र शम्भु यादवलाई शुक्रबार अभद्र व्यवहार गरेको एमालेको आरोप छ ।
उहाँले अभियानलाई सुरक्षा दिने काम सरकारको भएको भन्दै यसमा कुनै अवाञ्छित क्रियाकलाप भए मानवअधिकार उल्लङ्घनको रुपमा लिन राष्ट्रिय मानव अधिकार आयोगलाई अनुगमनका लागि आग्रह पनि गरिएको जानकारी दिनुभयो ।
उहाँले आज झापाका कार्यक्रममा करिब डेढ लाखको उत्साहजनक सहभागिता रहेको पनि बताउनुभयो । यसैबीच, शुक्रबार केन्द्रीय कमिटीमा मनोनित विभिन्न २१ केन्द्रीय सदस्यको आज साँझ बस्ने स्थायी कमिटीको बैठकमा शपथ ग्रहण गराउने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो ।


