आज महाशिवरात्रि हर्सोल्लासका साथ मनाइदै

काठमाडौँ, १३ फागुन २०७३ । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज नेपालभर मनाइँदैछ ।

हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण जन्माष्टमीको रातको मोहरात्रि र लक्ष्मीपूजाको रातको सुखरात्रि जत्तिकै महत्वपूर्ण मानिन्छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगतको कल्याण गर्ने तत्व) ले गर्दा फागुनमा पलाउन थाल्ने भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजका दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । आजको शिवधुनीपछि जाडो जान्छ, पशुपति दर्शन गर्न आएका भारतीय भक्तजनले जाडो लिएर जान्छन् भन्ने विश्वाससमेत छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ भने कैलाशकूट र किरातेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । शङ्करको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशका विभिन्न भागलगायत भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ ।

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष १३ लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले बताउनुभयो । “पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी पूरा भएको छ, १३ लाख भक्तजनमा साढे ६ लाखले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गर्ने र साढे ६ लाखले बाहिरबाटै दर्शन गरेर फर्कनुहुनेछ, सुरक्षाका लागि नेपाल प्रहरीका चार हजार, सशस्त्र प्रहरी बलका दुई हजार पाँच हजार र राष्ट्रिय अनुसन्धान विभागका चार सय सुरक्षाकर्मी मेलाका लागि खटाइएको छ, भक्तजनले ढुक्कसँग छलफल गर्न सक्ने वातावरण बनाइएको छ”, उहाँले भन्नुभयो ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा भइरहेको विकासनिर्माण एवम् भूकम्पपछिको पुनर्निर्माणले अप्ठ्यारो नहोस् भन्नेतर्फ पनि ध्यान दिइएको कोषले जनाएको छ ।

 

  • 56Read This News:
  • 451185Total reads:
  • 262472Total visitors: