साना किसानको ऋण मिनाहा

पर्वत, १२ पुस २०७५ । सरकारले हालै गरेको साना किसानको ऋण मिनाहा गर्ने घोषणाबाट पर्वतका सयौँ कृषकले राहत पाएका छन् । सरकारले कृषि क्षेत्रमा लगानी गर्न ऋण लिएका तर विविध कारणले भुक्तानी गर्न नसकेका कृषकको ऋण मिनाहा गर्ने घोषणा गरेपछि पर्वतका कृषकले लिएको रु २३ लाख ३८ हजार ७२० मिनाहा हुने भएको हो ।

आव २०७४/७५ को असार मसान्तसम्म पर्वतका विभिन्न क्षेत्रका कृषकबाट ब्याज रु १८ लाख ९३ हजार १२८ र साँवा रु ४ लाख ४५ हजार ५९२ गरी रु २३ लाख ३८ हजार ७२० असुल गर्न बाँकी रहेको कृषि विकास बैंक कुश्मा शाखाका प्रमुख महेश पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार जिल्लाका चार सहकारी संस्थामार्फत कृषकले ऋण लिएका थिए । बैंकबाट ऋण लिएर कृषकलाई वितरण गरेका तर अहिले अस्तित्वमै नरहेका सहकारी संस्थाहरूको ऋण मिनाहा भएको हो । यसबाट कतिपय जग्गा धितो राखेर ऋण लिएकाहरू समस्यामा परेका थिए ।
पर्वतका गुप्तेश्वर सहकारी संस्था लिमिटेडले ब्याजसहित रु ११ लाख ७४ हजार ३५६, हडरे देउराली सहकारी फलेवासले रु २ लाख ३८ हजार ३८६, धौलागिरि सहकारी मोदी–२ देउपुरले रु २ लाख ९७ हजार, आदर्श बहुमुखी सहकारीले रु ३ लाख २५ हजार १५ र सोही सहकारीले अर्को शीर्षकमा लगेको रु ३ लाख ३ हजार ९६२ ब्याजसहित असुल गर्नुपर्ने बक्यौता रहेको थियो ।

हालै बसेको मन्त्रिपरिषद्को बैठकले ऋण मिनाहा गर्ने घोषणा गरेपछि ती सहकारीमार्फत ऋण लिएका सबै कृषक ऋणमुक्त बनेको शाखा प्रबन्धक पौडेलले बताउनुभयो । उहाँका अनुसार कतिपय जग्गा धितो राखेकाले बैंकमा सम्पर्क राखी फकुवा गर्न सकिने समेत जानकारी दिनुभयो ।

 

  • 48Read This News:
  • 406531Total reads:
  • 219872Total visitors: