काठमाडौँ, ३ पुस २०७५ । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १४.६१ विन्दुले घटेर ११६८.१७ विन्दुमा झरेको छ ।
‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०४ विन्दुले घटेर २४८.५९ विन्दुमा पुगेको छ । स्टककाअनुसार आज कूल १५९ कम्पनीको १४ लाख ७८ हजार ७२४ कित्ता शेयर रु ५३ करोड २३ लाख २५ हजार ६४६ मूल्यमा खरीद बिक्री भए ।
कारोवार भएका १० उपसमूहमध्ये आज ८ उपसमूहको शेयर ओरालो लागेका छन् भने दुई उपसमूहको शेयर वृद्धि भएको छ । उत्पादन ९.३१ र अन्य ५.३८ विन्दुले बढेको छ ।
यस्तै बैंकिङ १५.६४, होटल ५.५४, विकास बैंक २०.७२, जलविद्युत् १६.१४, वित्त ०.३६, निर्जीवन बीमा १९२.३२, लघुवित्त १८.४८ र जीवन बीमा ४९.९३ बिन्दुले घटेका छन् । घटेको बजारमा समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् ।
यस्तै विजय लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रो पावर, स्वरोजगार लघुवित्त विकास बैंक र युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


