म्याग्दी, २ मङ्सिर २०७३। भारतको विहार राज्यअन्तर्गत पर्ने मोतिहारी जिल्लाका नन्दलाल शाहनी विगत नौ वर्षदेखि म्याग्दीका गाउँगाउँ घुमेर बिग्रेका स्टोभ, राइस कुकर, प्रेसर कुकर, ग्यासलगायतका सामानको मर्मत गर्दै आउनुभएको छ ।
झोलामा स्क्रुड्राइभर, नट, रवर, ह्याम्बर, प्रेसरकुकरका सिटी, ढकनी, ग्यास सफा गर्ने सामान र यस्तै अन्य साधन बोकेर गाउँ चाहार्ने शाहनीले मासिक रु २५ हजारदेखि रु ४० हजारसम्म कमाउछन।
शाहनी मात्रै होइन भारतकै गोन्डा जिल्ला घर बताउने मनोहरलाल गुप्ता, फैजावादका पवनलाल श्रीवास्तवलगायतका भारतीय नागरिकले जिल्लाका गाउँ गाउँमा पुगेर आफ्नो सीपको प्रयोग गरी मासिक लाखौँ रुपैयाँ आम्दानी गर्दैआएका छन् । “एक दिनमा रु १ हजारदेखि रु ३ हजारसम्म कमाइ हुन्छ,” शाहनी बताउछन ।
त्यसैगरी झुल, तन्ना, सिरकका खोललगायतका कपडाको व्यापार गर्दै आएका भारत गोन्डाका मनोहरलाल गुप्ताले जिल्लाका गाउँ गाउँमा पुगेर बिक्री गर्नुहुन्छ । उहाँले दैनिक रु ४ हजारदेखि रु ६ हजारका कपडा बिक्री हुन्छ । त्यस्तै भारत फैजावादका पवनलाल श्रीवास्तवले औषधिजन्य बस्तुको व्यापार गर्दै आएकाछन । उनले खुल्लारुपमा आयुर्वेदिक औषधि भनिएका सामान र महको बिक्री गर्छन ।
“औषधि र मह बिक्री गरी दैनिक रु १ हजारदेखि रु २ हजारसम्म आम्दानी गर्दछन । सदरमुकाम बेनी बजारमा सयौँ भारतीय नागरिकले सैलुन, चनाचटपटे, तरकारी तथा मिठाइ बनाएर बिक्री गर्दैआएका छन् ।
नेपाली नागरिक मासिक रु २०/२५ हजार कमाउन लाखौँ खर्च गरेर खाडी मुलुक जाने गरेका छन् । तर भारतीय नागरिकले भने नेपालकै गाउँघरमा थोरै लगानीमा मासिक लाखौ कमाउने गरेका छन् ।
म्याग्दी बहुमुखी क्याम्पसका अर्थशास्त्र विषयका प्राध्यापक भोला घिमिरे आफ्नै गाउँघरका सानासाना काममा नेपालीको ध्यान जान नसकेको बताउनुहुन्छ । आफ्नै गाउँघरमा रोजगारीका प्रशस्तै सम्भावना रहेका भएपनि नेपाली युवा भारतीय सहर जाने गरेका छन् ।


