भूकम्पले भत्काएको विद्यालय ५३ लाखको लागतमा पुनर्निर्माण गरिदै

भक्तपुर, २४ जेठ २०७४ । विसं २०७२ वैशाखको भूकम्पले भत्किएको सूर्यविनायक नगरपालिका–८, सिपाडोल नैचालमा रहेको सरस्वती आधारभूत विद्यालय भवनको पुनर्निर्माण सुरु भएको छ ।

एईआइएन लग्जम्बर्गको सहयोग तथा मानवीय आस्था नेपाल नामक संस्थाको संयोजनमा करिब रु ५३ लाखको लागतमा विद्यालयको पुनर्निर्माण सुरु गरिएको मानवीय आस्था नेपालका महासचिव रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।

एईआइएनको रु ४५ लाख र स्थानीयवासीको रु ८ लाख सहयोगमा ३ महिनाभित्र विद्यालय भवन निर्माण गरिसक्ने लक्ष्य रहेको छ ।

भूकम्पका कारण विद्यालयको दुईवटै भवनमा क्षति पुगेपछि चारवटा असुरक्षित कोठामा कक्षा ७ सम्मका विद्यार्थीलाई एकै ठाउँमा राखेर अध्यापन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक घनश्याम थापाले जानकारी दिनुभयो ।

भक्तपुरको पाटी भञ्ज्याङ, रानीकोट, काभ्रेको नैचाल, सोचे लगायतका क्षेत्रका बालबालिका अध्ययनरत यस विद्यालयको भवन पुनर्निर्माणपछि नर्सरी, देखी कक्षा ८ सम्म पढाउने गरी व्यवस्था गरिने भएको उहाँले बताउनुभयो ।

हाल ६ जना शिक्षक दरबन्दी रहेको विद्यालयमा संस्थाले १ राहत शिक्षक राखेर कक्षा सञ्चालन गर्दै आएको छ । संस्थाले विद्यालयका ७० विद्यार्थीलाई खाजा, शैक्षिक सामग्री, विद्यालय पोसाक, झोलालगायत सामग्री सहयोग पुर्याउँदै आएको र विद्यार्थीका अभिभावकलाई आत्मनिर्भर बनाउन सीपमूलक काममा सहभागी गराउन आधुनिक कृषिका लागि टनेल खेली तथा सिलाइ÷कटाइ तालिम दिइएको छ ।

 

  • 58Read This News:
  • 486261Total reads:
  • 291033Total visitors: