जनै पूर्णिमा ऋषि तर्पणी र रक्षाबन्धन

आज जनै पूर्णिमा ऋषि तर्पणी र रक्षाबन्धन

आज श्रावण शुक्ल पूर्णिमा, यो प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा हिन्दू धर्मावलम्बीहरूले एक पवित्र र महत्त्वपूर्ण चाडको रुपमा मनाउने गर्दछ ।

आज तागाधारीहरूले बिहानै नदी, तलाउ वा धारामा स्नान गरी पुरोहितबाट मन्तरेको नयाँ जनै (यज्ञोपवित) फेर्छन्। साथै, नाडीमा नकारात्मक शक्तिबाट रक्षा होस् भन्ने कामनासहित रक्षासूत्र डोरो बाँध्ने गरिन्छ। आजको दिनमा छोरी ज्वाइ आफ्ना ससुरालीमा गएर जनै लगाइदिने पनि परम्परा छ ।

आज सप्तऋषिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठको पूजा आराधना गरी तर्पण दिने भएकाले आजको दिनलाई ऋषि तर्पणी पनि भनिन्छ।

नेवार समुदाय तथा समग्र नेपाली समाजमा आज ९ थरिका गेडागुडी चना, केराउ, मास, मुगी, सिमी, भटमास, बकुल्ला, बोडी आदि मिसाएर भिजाएको र टुसा उमारेर त्यसपछी पकाएर खाने परिकार खाइन्छ त्यसलाइ क्वाँटी भनिन्छ। क्वाँटी खानाले वर्षायाममा शरीरलाई तागत र रोग प्रतिरोधात्मक क्षमता मिल्छ भन्ने विश्वास छ।

नेवार समुदायमा आजको दिन गुँन्हीपुन्हिको रूपमा परिचित छ । यसै दिनदेखि काठमाडौँ उपत्यकामा परम्परागत गुँला पर्व को विशेष रौनक सुरु हुन्छ र भ्यागुतालाई पूजा गर्नेपनि कतैकतै चलन छ।

आजको दिन रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, जनकपुरको धनुष सागर लगायत देशभरका विभिन्न शिवालय तथा पवित्र तीर्थस्थलहरूमा भव्य मेला लाग्छ। तर यो बर्ष चीनको तिब्बतबाट आएको बाढीको कारण धेरै जनधनको क्षति भएको र गोसाइँकुण्ड जाने बाटोको अबरोधका कारण तिर्थगर्न गएका भक्तजनहरु अलपत्र परेका छन । छिट्टै बैकल्पिक मार्ग प्रयोग गरी फकर्ने छन ।

तराई क्षेत्र तथा भारतसँग जोडिएका समुदायमा आजको दिनमा दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै नाडीमा राखी बाँधिदिने गर्छन्।

 

  • 66Read This News:
  • 501014Total reads:
  • 304598Total visitors: