७ महिनामा ४३ अर्बको इन्धन आयात

पर्सा, १० फागुन २०७४ । चालु आर्थिक वर्ष २०७४÷७५ को ७ महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ ।

साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट ६ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र १ लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ ।

आव २०७३÷७४ को साउनदेखि माघसम्मको ७ महिनामा वीरगञ्ज नाका भएर रु ३३ अर्ब १० करोड ६६ लाख मूल्यको ५ लाख ५५ हजार २५६ किलोलिटर इन्धन र १ लाख २४६ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको थियो । गत वर्षको तुलनामा चालू आवमा रु १० अर्ब १५ करोड ३२ लाख मूल्यको एक लाख २३ हजार १५५ किलोलिटर इन्धन र २२ हजार ६९३ मेट्रिक टन खाना पकाउने ग्यास बढी आयात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनुभयो ।

भारतको रक्सौल, बरौनी डिपोबाट आयात गरिएको पेट्रोलियम पदार्थ र मथुरा, हल्दियालगायत स्थानबाट आयात गरिएको खाना पकाउने ग्यासबाट भन्सार कार्यालयले चालू आवको ७ महिनामा रु ९ अर्ब ५९ करोड १२ लाख राजस्व संकलन गरेको छ ।

 

  • 37Read This News:
  • 406798Total reads:
  • 220118Total visitors: