भुटानी शरणार्थीले मनाए भुटान राष्ट्रिय दिवस

झापा, ३ पुस २०७४ । ११०औँ भुटान राष्ट्रिय दिवसका अवसर पारेर यहाँका भुटानी शरणार्थीले आफ्नो देशको सम्झना गर्दै राष्ट्रिय दिवस मनाएका छन् ।

बेलडाँगी क्याम्प व्यवस्थापन समितिको आयोजनामा शिविर परिसरमा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो । दिवसका अवसर पारेर कराँते एशोसिएशन भुटानले कराँतेका पाँचजना प्रशिक्षकलाई सम्मानसमेत गरेको थियो । यसरी सम्मानित हुने प्रशिक्षकमा योगेश चाम्लिङ, मदन उप्रेती, डम्बर सुनुवार, विष्णु नेम्वाङ र रेशा लिम्बू रहनुभएको छ ।

यसैगरी सो अवसरमा विभिन्न समयमा आयोजना गरिएका अन्तर्राष्ट्रिय कराँते खेलमा स्वर्णपदक विजेता १०, रजत पदक विजेता ६ र काश्य पदक विजेता चारसमेत २३ जना खेलाडीलाई सम्मान गरिएको थियो ।

शिविर सुपरीवक्षेक सुरेन्द्र दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दमक–३ का वडाध्यक्ष नवीन बराल, शिविरका पूर्वसचिव युवराज राई, राजमान गुरुङ, चिरञ्जीवी राई, सामुदायिक सञ्जालका अध्यक्ष नैनसिंह भण्डारी, पथरी शनिश्चरेका शिविर सचिव चम्पासिंह राई, बेलडाँगी शिविरका सचिव टीकाराम रसाइलीलगायतले भुटानी राष्ट्रिय दिवसको महत्वका बारेमा बोल्नुभएको थियो ।

कार्यक्रममा खेलाडीले पेटमा मोटरसाइकल कुदाउने, किकले घैला फुटाउने, गीत, नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

यसैबीच यता भुटान राष्ट्रिय मेलमिलाप समिति तथा भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिले तत्काल बाँकी रहेका इच्छुक भुटानीलाई आफ्नो देश फर्काउन कार्यक्रमस्थलमा ब्यानर राखेर माग राखेका थिए ।

 

  • 36Read This News:
  • 481645Total reads:
  • 288883Total visitors: