९ वर्षपछि जयराम पुल सञ्चालन, बल्ल खुल्यो खोटाङमा समृद्धिको बाटो

खोटाङ, ८ मंसिर २०७४ । जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दूधकोसी नदीमा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएको छ ।

खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटमा निर्माण गरिएको सो पुल आज बिहानबाट सञ्चालनमा ल्याइएको हो ।

सम्झौता अबधि सकिएको ५ वर्षपछि मात्र निर्माण कार्य सकिएको जयराम पुलमा बिहीबार एकै चोटी ३ वटा ठूला ट्रकमा १५० टनको लोड राखेर गरिएको परीक्षण सफल भएपछि सञ्चालनमा ल्याइएको ठेकेदार कम्पनीले जनाएको छ ।

यातायात सेवा सञ्चालन भएको १० वर्षपछि प्रमुख नाका दूधकोसीस्थित जयरामघाटको पक्की पुल सञ्चालनले खोटांगे जनतामा ठूलो आशा जगाएको छ ।

करिब १० करोडको लागतमा निर्माण कार्य सम्पन्न भएको पक्की पुल बिहान ९ बजेबाट सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो ।

“खोटाङ्गे जनताको लामो पर्खाइपछि पुल सञ्चालनमा आएको छ ।” उहाँले भन्नुभयो, “अहिले निर्वाचन आचारसंहिता लागू भएको छ । औपचारिक उद्घाटन गर्दा आचारसंहिताले नदिने भएकाले उद्घाटन नगरी सञ्चालन गरिएको हो ।”

जयरामघाटको पक्की पुल सञ्चालनमा आएपछि जिल्लामा समृद्धिको बाटो खुला भएको पूर्व सांसद तथा नेकपा (एमाले)का नेता पाँचकर्ण राई (पिके)ले बताउनुभयो । “पुल अभावमा लामो समयदेखि जिल्लाको हरेक विकास/निर्माणमा बाधा पुगेको थियो,” उहाँले भन्नुभयो, “ठूलो कसरतपछि पुल सञ्चालनमा ल्याउन सफल भएका छौं, अव तीे सबै समस्या समाधान भएर जिल्ला समृद्धिको बाटोतर्फ अगाडि बढेको छ ।”

दूधकोसीमा पक्की पुल निर्माण गर्ने जिम्मा विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन र दिवाकर गोल्छाको हुलास इञ्जिनियरिङ ले लिएको थियो । २०६८ साल असारसम्ममा सबै काम पूरा गर्ने शर्तमा दुवै कम्पनीले साझेदारीमा काम गर्नेगरी २०६६ साल भदौमा नेपाल सरकार, सडक विभागसमक्ष सम्झौता गरेको थियो ।

करिब १५० मिटर लामो मोटरेवल पक्की पुल नेपालकै नमूना भएको र निर्माणमा पनि ढिला भएको आयोजना प्रमुख इञ्जिनियर उद्धव रानामगरले बताउनुभयो । “पुलका लागि आवश्यक सामग्री र प्राविधिक बाहिरबाट ल्याउनुपयोर्” उहाँले भन्नुभयो, “सबै कुरामा बाहिरी देश चिनकै सहयोग लिनुपरेकाले पुल निर्माणमा ढिलाइ भएको हो ।”

जयराम पुल सञ्चालनमा आएसँगै खोटाङ जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने जयरामघाटमा पुल सञ्चालन भएपछि राजधानी काठमाडौंँलगायत तराईका विभिन्न जिल्लासँग सिधा यातायात सञ्चालनमा सहज भएको यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङमाङले बताउनुभयो ।

२०६४ मा हेलिकोप्टरमार्फत बोकेर ल्याइएको बेलिब्रिज जडान गरेर यातायात सञ्चालनमा ल्याएको थियो । यसरी पक्की पुल नहुँदा हिउँदको समयमा वैकल्पिक व्यवस्थाका लागि अस्थायी बेलिब्रिज जडान गरेर आवतजावत गर्ने गरिएको थियो ।

जयरामघाटमा अस्थायी बेलिब्रिज जडान गर्दा वार्षिक ६० लाख बढी राज्यकोषको रकम खर्च हुने गरेको थियो ।

 

  • 57Read This News:
  • 438821Total reads:
  • 250759Total visitors: