तनहुँका महिलाले ८१ वर्षीय मीनबहादुर बस्यालको शव बोकेर घाटमा पुर्याए

तनहुँ, ८ मंसिर २०७४ । पितृसत्तात्मक सोचको अन्त्य गर्न तनहुँका महिलाले शव बोकेर दमौलीघाटमा पुर्याएका छन् ।

व्यासनगरपालिका– ५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ८१ वर्षीय मीनबहादुर बस्यालको शव आश्रमकै महिलाहरुले बोकेर आज विहान अन्त्येष्टिका लागि घाटसम्म पु¥याएका हुन् । बस्यालको गए राति मृत्यु भएको हो ।

विसं २०६८ देखि उक्त आश्रम महिलाको मात्रै सक्रियतामा सञ्चालन हुँदै आएको भए पनि २०७० सालदेखि विधिवतरुपमा दर्ता गरी सञ्चालनमा ल्याइएको हो ।

अविवाहित बस्याल उक्त आश्रममा विगत पाँच वर्षदेखि बस्दै आएका थिए । उनका आफन्तहरु कोही पनि नभएको बताइएको छ । हाल उक्त ज्येष्ठ नागरिक आश्रममा ४ महिला र ३ पुरुष गरी ७ जना बस्दै आएका छन् ।

समाजमा महिलाले केही पनि गर्न सक्दैनन् भन्ने परम्परालाई तोड्नका लागि महिलाले नै शव बोक्ने गरेको आश्रमकी कार्यबाहक अध्यक्ष शकुन्तला आलेले बताउनुभयो ।

ज्येष्ठ नागरिकलाई पालन पोषण गरिसकेपछि उनीहरुको मृत्युपश्चात् हामीले नै दाहसंस्कार गर्नुपर्छ भन्ने उद्देश्यले महिलाले शव बोक्नुपरेको उहाँले जानकारी दिनुभयो ।

मन्त्र जप्ने ओँठभन्दा सेवा गर्ने हात पवित्र हुन्छ भन्ने मूलमन्त्रका साथ महिलाले सहजरुपमा शव बोकेर घाटसम्म पुर्याएको आश्रमकी सचिव निर्मला मल्लले बताउनुभयो । पितृसत्तात्मक सोचलाई अन्त्य गर्नका लागि महिलाले पनि समाजमा केही गर्न सक्छन् भन्ने शिक्षा दिनका लागि महिलाले शव बोक्ने साहस गरेका हुन् सचिव मल्लले भन्नुभयो ।

समाजमा रहेको कुरीतिको अन्त्यका लागि महिलाले देखाएको साहसपूर्ण कार्य एउटा उदाहरणीय रहेको घाटमा पुगेका दमौलीका व्यवसायी रामकुमार श्रेष्ठले बताउनुभयो । छोरा नभए पनि छोरीले पनि कर्तव्य पालना गर्न सक्छन् भन्ने सन्देशमूलक कार्य तनहुँका महिलाले गरेका छन्, श्रेष्ठले भन्नुभयो ।

आश्रम सञ्चालक महिलाले २०७२ साल मंसिर १२ देखि १८ गतेसम्म ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि महायज्ञको आयोजना गरी रु १ करोड ४० लाख संकलन गरेकामा रु १ करोड १५ लाख खर्चेर घरसहितको करिब २ रोपनी जग्गा आश्रमको नाउँमा किनिसकेका छन् ।

शुरुमा १५ जना महिलाद्वारा सञ्चालित उक्त आश्रममा हाल ३२० महिला आबद्ध रहेको आश्रमकी कोषाध्यक्ष करुण श्रेष्ठले बताउनुभयो । शुरुमा घर भाडा लिएर आश्रम सञ्चालन गर्दा कठिनाइ भोग्नुपरेको थियो श्रेष्ठले भन्नुभयो तर अहिले आफ्नै घर र जग्गा हुँदा आश्रम सञ्चालनमा सहज भएको छ ।

 

  • 13Read This News:
  • 261121Total reads:
  • 130013Total visitors: