इपीएलमा भैरहवाको लगातार दोस्रो जित

काठमाडौँ, २५ मङ्सिर २०७५ । भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल)मा लगातार दोस्रो जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गर्दै भैरहवाले लगातार दोस्रो जित निकालेको हो । जितसँगै भैरहवाले चार अङ्क जोडेको छ । भैरहवाले दिएको १४४ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेलेर ९ विकेट गुमाइ १३१ रनमात्र बनाउन सक्यो । चितवनका लागि ओपनर पउल स्ट्रलिङले सर्वाधिक ३६ रन बनाए भने जोन सिम्पसनले २६ तथा दिलिप नाथले १२ रन जोडे । शाहब आलमले नटआउट १६ रन बनाए ।

बलिङमा भैरहवाका कप्तान शरद भेषावकर र रवीइन्दर सिंहले २/२, रायन टेन डेसचाटे र अभिनाश बोहराले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९.३ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो । भैरहवाका लागि राएन टेन डेसकाटेले ३५, प्रदिप ऐरीले २६, रवीइन्दर सिंहले २५, आरिफ शेख र पुनित मेहराले १२/१२ रन जोडेका थिए ।

चितवनका सागर ढकालले तीन र जर्ज स्कटले दुई विकेट लिएका थिए । जारी प्रतियोगितामा चितवनको यो लगातार तेस्रो हार हो । बुधबार पहिलो खेलमा भैरहवाले विराटनगर वारियर्ससँग र काठमाडौँ किंग्स ११ ले ललितपुर प्याट्रियसबीच खेल हुनेछ ।

 

  • 46Read This News:
  • 407666Total reads:
  • 220944Total visitors: