इलामको सुकिलुम्बा विमानस्थलबाट सफल भयो परीक्षण उडान

हालै निर्माणसम्पन्न इलामको सुकिलुम्वा विमानस्थलमा सफल उडान परिक्षण गर्दै तारा एयर ।

इलाम, २१ जेठ २०७५ । निर्माणाधीन सुकिलुम्बा विमानस्थलबाट आज सफल परीक्षण उडान भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले यहाँबाट गरेको परीक्षण उडान सफल भएको हो । तारा एयरको विमान करीब १२ बजे सुकिलुम्बा विमानस्थलमा अवतरण हुँदा उपस्थित स्थानीय हर्षित भएका थिए ।

परीक्षण उडान हेर्नका लागि सयौँ नागरिक बिहानैदेखि विमानस्थल पुगेका थिए । विमान चालकद्वय प्रभाकर घिमिरे र सञ्जिव मिश्रलाई सफल उडान गरेको भन्दै जिल्लावासीले फूलमालासहित सम्मान गरेका थिए ।

करीब छ वर्षअघि निर्माण शुरु भएको यस विमानस्थलमा ग्राभेलको काम गरिने प्राधिकरणका प्रमुख इञ्जिनियर पुष्प न्यौपानेले जानकारी दिनुभयो । ७ सय मिटर लम्बाइ र अधिकतम ६० मिटर चौडाइको धावन मार्ग यस वर्ष रु १ करोड १५ लाखमा ठेक्कामा दिइएको थियो ।

माईखोलासम्म ढल व्यवस्थापन रु ८ करोडमा भइरहेको उहाँले बताउनुभयो । धावनमार्ग कालोपत्र प्रक्रिया छिट्टै अगाडि बढाइनेछ । ३ सय २५ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थल निर्माण गर्न स्थानीय निकाय र समाजसेवीको पहलमा जग्गा अधिग्रहण गरिएको थियो । विमानस्थल निर्माण भए पूर्वी पहाडी भेगका स्थानीयवासीलाई सहज हुनेछ । जिल्लाका पर्यटन व्यवसायीसमेत विमानस्थल निर्माणबाट गति लिने र पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षामा छन् ।

 

  • 49Read This News:
  • 481961Total reads:
  • 288952Total visitors: