सडक अतिक्रमण गरी बनाएका टहरा तथा संरचना भत्काउन शुरु

काभ्रे, १ असोज २०७५ । काभ्रेपलाञ्चोकको धुलिखेलबाट शुरु भएको बिपी राजमार्गअन्तर्गत नेपालथोक–धुलिखेल सडकखण्ड–४ अन्तर्गतका दायाँबायाँ १५/१५ मिटरभित्रका घरटहरा तथा होर्डिङबोर्ड आजबाट हटाउन शुरु गरिएको छ ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाको अगुवाइमा जिल्ला प्रहरी कार्यालयको सहयोगमा धुलिखेल नगरपालिका–७ हस्पिटल चोकबाट सडक अतिक्रमण गरी बनाएका टहरा तथा संरचना भत्काउन थालिएको जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो ।

काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले राजमार्गले छोएका नगरपालिका तथा गाउँपालिकाका सम्बन्धित वडा अध्यक्षहरुसँग छलफल गरी तोकिएको मापदण्डभित्र पर्ने घरटहरा तथा संरचना भत्काउन शुरु गरेको बताउनुभयो ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका निमित्त आयोजना प्रमुख राकेश महर्जनले काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाको सिमानासम्म तोकिएको मापदण्डभित्रका घरटहरा तथा संरचना हटाउन शुरु गरेको बताउनुभयो ।

‘केही ठाउँमा रहेका केही समस्यामा नै रहेका घर टहरामा बसोबास गर्दै आउनुभएकाको लागि सम्बन्धित वडाध्यक्षले एक÷दुई दिनमा नै भत्काई दिन्छौँ भनेर जिम्मा लिएकाले आज भत्काइएको छैन’ उहाँले भन्नुभयो, “त्यो बाहेकका मापदण्डभित्र निर्माण गरेका सबै संरचना भत्काइरहेका छौँ ।”

इञ्जिनीयर साधुशरण पूर्वेको नेतृत्वमा सब–इञ्जिनीयर घनश्याम खड्का, रस्मिता बस्नेत, सिर्जना लेखक, ज्योत्स्ना सुवेदी र अमिन राधेश्याम राजठेउलाको संयुक्त टोलीले गत भदौ ३ गते पेश गरेको प्रतिवेदनअनुसार धुलिखेल, पनौती, पाँचखाल र नमोबुद्ध नगरपालिका तथा रोशी गाउँपालिकाको गरी ४८६ वटा घरटहरा भत्काउनु पर्नेछ । यसबारेमा सम्बन्धित वडाध्यक्ष र घरटहरा धनीलाई सम्पूर्ण जानकारी पठाइसकेको निमित्त आयोजना प्रमुख महर्जनले बताउनुभयो ।

 

  • 26Read This News:
  • 510889Total reads:
  • 314149Total visitors: