काठमाडौँ, १५ जेठ २०७५ । “बुहारीले माथि उक्लियौँ भन्दा मन सिरिङ भएको थियो, केही भयो भने यो सानो नातिको के होला भनेर चिन्ता लाग्योे ।”
पत्रकार बुहारी कल्पना महर्जनसहित प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ को टिमले सरगमाथाको सफल आरोहण गरेपछि स्वागत गर्न त्रिभुवन विमानस्थल पुग्नुभएकी उहाँकी सासु भ्यान्चीले सुनाउनुभयो । “बुहारीले सगरमाथाको चुचुरोमा पाइला राखेपछि डर खुसीमा परिणत भएको छ । पहिले पनि प्रयास गरेकी बुहारीको चिन्ताले उनी घर नर्फकदासम्म मन चिन्तित नै थियो,” उहाँले भन्नुभयो ।
कल्पनाको यो दोस्रो प्रयास थियो । सन् २०१४ मा पनि कल्पनाले सगरमाथा चढ्ने प्रयास गर्नुभएको थियो । पहिलो पटक स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उहाँको इच्छा अधुरै रहेको थियो ।
त्यतिबेला कल्पना सात दिन कोमामा परेर सात हप्तामा साधारण अवस्थामा फर्किनुभएको थियो । उहाँले त्यो क्षण सम्झदै भन्नुभयो,“यसपटक पनि मलाई स्वास्थ्यमा समस्या देखिएको थियो, तर मैले यसपटक हिम्मत हारिन, मलाई यसपटक सगरमाथा चुम्नु नै थियो ।”
बुहारीलगायतको टोली आज आउने भएपछि भ्यान्ची दिउँसो १२ बजे नै विमानस्थल आइपुग्नुभएको थियो । “खुसीको वर्णन गर्नै सक्तिन, बुहारीले हाम्रो परिवार मात्र होइन देशलाई नै चिनाइन्, उनीप्रति हामीलाई गर्व छ ।” उहाँले भन्नुभयो ।
यस्तै ५ बहिनीमध्येकी कान्छि रोजिता बुद्धाचार्यले सगरमाथा चढ्छु भनेपछि अरु ४ दिदीले नजाउ भन्न सकेनन् । रोजिताकी दिदी अनिताले भन्नुभयो, “उसले जान्छु भनेपछि नाई भन्नै सकेनौँ तर मनमा नगए हुन्थ्यो भन्ने लागिरहन्थ्यो, मन परिवर्तन गरे हुन्थ्यो भन्ने लाग्थ्यो तर उनले हाम्रो डरलाई खुसी र गौरवमा परिणत गरिदिइन् ।”
नेपाली पत्रकार महिलाको टोली विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आज काठमाडौँ फर्किएको छ । छोरीहरूले विश्वको सर्वोच्च शिखर चुमेर आउदाँ उनीहरूको हौसला बढाउन पञ्चकन्याका परिवारजन बाँजागाँजा, फूलमालासहित बिहानैदेखि विमानस्थलमा व्यग्र प्रतिक्षा गरिरहेका थिए ।
देउराली चाम्लिङ, कल्पना महर्जन, रोशा बस्नेत, प्रियालक्ष्मी कार्की र रोजिता बुद्धाचार्यमध्ये कार्की बाहेक चारजनाले सगरमाथाको सफल आरोहण गरी फर्किनुभएको छ । कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि उहाँ फर्किनुभएको थियो । कार्कीले अर्को पटक सगरमाथा आरोहण गर्ने बताउनुभयो ।
सधैँ समाचारमार्फत जनतालाई सूसुचित गर्ने पत्रकार महिलालाई केही नयाँ गरौँ भन्ने लागेपछि सगरमाथा चढ्ने योजना बनाएका थिए । करिब एक वर्षको अभ्यास र तयारी पछि ठूलो समुह छाटिँदै पञ्चकन्याको समुहमा परिणत भएको आरोहण टोलीकी सदस्य रोशाले बताउनुभयो ।
“धेरैलाई हामीले सफलता प्राप्त गर्छौँ भन्नेमा आशंका थियो, हामीले आंशकालाई शक्तिका रुपमा लिएका थियौँ,” उहाँले भन्नुभयो ।
पछिल्लो समय महिलाले सगरमाथाको सफल आरोहण गर्ने क्रम बढ्दो छ । आँट गरे असम्भव हुँदैन, त्यसका लागि कडा मिहेनत गर्नुपर्ने भनाईलाई उक्त टिमले सगरमाथाको सफल आरोहण गरेर पुष्टि गरेको छ ।


