रासायनिक आक्रमणमा असद जिम्मेवारः टर्की

टर्की, २४ चैत २०७३। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले बुधबार एक प्रदर्शनका सहभागीलाई सम्बोधन गर्दै मङ्गलबार सिरियामा भएको शङ्कास्पद रासायनिक हतियार आक्रमणमा सिरियाली सरकारको हात रहेको बताए ।

एर्डोगानले सिरियाली राष्ट्रपति बसर अल असदलाई ‘हत्यारा’ भएको दाबी गर्दै रासायनिक हतियारबाट मृत्यु हुने बालबालिका, महिलासहित अन्य सर्वसाधारण रहेको बताए ।

मङ्गलबार सिरियाको इदलिबमा भएको भनिएको विषाक्त ग्यास आक्रमणमा दर्जनौँ सिरियाली सर्वसाधारणको मृत्यु भएको भन्दै तत्काल संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठक आह्वान गरी यस विषयमा छलफल गर्न फ्रान्सले मङ्गलबार आग्रह गरेको थियो ।

इदलिब सिरियाली विद्रोहीको प्रभाव क्षेत्र हो । मङ्गलबार बिहान इदलिबको एउटा बस्ती नजिकै रासायनिक हतियार आक्रमण भएकोे र सो घटनामा ११ बालबालिकासहित ५८ जनाको मृत्यु भएको सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको थियो । उक्त संस्थाले घटनामा सत्तापक्षको सेनाको हात रहेको आशङ्का गरेको थियो ।

सिरियाली सेनाले घटनामा सेनाको संलग्नता नरहेको बताएको छ ।

 

  • 32Read This News:
  • 483978Total reads:
  • 289552Total visitors: