राष्ट्रिय कविता महोत्सवमा कवि फूलमान बल प्रथम

काठमाडौँ, १० असार २०७५ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सवमा काभ्रेपलाञ्चोकका फूलमान बलको ‘इन्द्रेणी गीत’ शीर्षकको कविता प्रथम भएको छ ।

महोत्सवमा धादिङकी सुनिता खनालको ‘श्याम श्वेत फोटो’ शीर्षक दोस्रो भएको छ भने तीनजना कविका कविता तेस्रो भएका छन् । तेह्रथुमका एलिना दुलालको ‘लाहुरेकी स्वास्नी’ रामेछापका जीवन खत्रीको ‘अर्को प्यास’ र मोरङकी मेनुका चापागाइँको ‘बाटो बिराएँछु’ कविता तेस्रो भएको प्रतिष्ठानका कार्यक्रम संयोजक सन्ध्या पहाडीले जानकारी दिनुभयो ।

पुरस्कारको राशि प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु ३० हजार, रु २५ हजार र रु २० हजार रहेको छ ।

प्रथम घोषित कवि बलले नेपाली समाजमा पहिचानको नाममा देखिएको द्वन्द्व, त्यसको व्यवस्थापनका विषय र समसामयिक राष्ट्रिय चासोको विषयमा आफूले कविता सिर्जना गरेकामा त्यो पुरस्कृत भएकोमा खुशी व्यक्त गर्नुभयो । कवि बल कान्तिपुर दैनिकका पत्रकार पनि हुनुहुन्छ ।

प्रतियोगीतामा ३६ जना कविले कविता वाचन गर्नुभएको थियो । विजयी कविहरुलाई उपयुक्त समयमा राष्ट्रपतिबाट पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

 

  • 70Read This News:
  • 531674Total reads:
  • 334609Total visitors: