आँखाको उपचारमा नेपालको प्रगति प्रशंसनीय–उपप्रम यादव

काठमाडौँ, १० असार २०७५ । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपालले आँखाको स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गर्न सकेको बताउनुभएको छ ।

राजधानीमा सञ्चालन भइरहेको १४ औँ सार्कस्तरीय नेत्र स्वास्थ्य विज्ञानसम्बन्धी सम्मेलनमा भाग दिन आएका पाकिस्तानका नेत्ररोग विशेषज्ञहरुको सम्मानमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले शनिवार काठमाण्डौमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री यादवले नेत्र रोगको उपचारका लागि अस्पताल तथा जनशक्तिमा नेपालले हासिल गरेको उपलब्धि छिमेकी मुलुकका लागि पनि उपयोगी बन्नसक्ने धारणा राख्नुभयो ।

उहाँले दक्षिण एसियाली क्षेत्रका जनताको स्वस्थ्य जीवनका लागि सार्कका चिकित्सकहरुबीच सहकार्य अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै नेपाल–पाकिस्तानबीचको मैत्री सम्बन्धलाई आगामी दिनमा अझ विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो ।

सो अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत डा मजार जावेदले दुई देशका चिकित्सकहरुबीच प्रँविधिक ज्ञानको आदानप्रदानले परम्परागत मैत्री सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बरले वृद्धि गरिएको पनि जानकारी दिनुभयो ।

नेपाल–पाकिस्तानबीचको नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले विभिन्न रचनात्मक कार्य गर्दै आएकामा धन्यवाद दिनुुभयो ।

कार्यक्रममा संघका अध्यक्ष हिमालयशंसेर राणा र महासचिव मन्जुरत्न शाक्यले नेपाल—पाकिस्तानबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्न ७ वर्षदेखि वर्षमा दुईपटक यस किसिमका स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो ।

 

  • 72Read This News:
  • 531679Total reads:
  • 334614Total visitors: