रवीना रोकायको ‘धर्मकन्या’ उपन्यास बजारमा

काठमाडौँ, १४ साउन २०७४। लेखिका रवीना रोकायले लेख्नुभएको ‘धर्मकन्या’ नामक उपन्यास आजदेखि बजारमा आएको छ ।

सामान्य परिवारभित्र दिदीभाइको मित्रताले परिवारमा ल्याएको खुशी र त्यसपछि उनीहरुमा देखिएको बेमेल तथा असमझदारी विषयवस्तु कृतिमा समेटिएको छ ।

शिवपुरी साहित्य समाजद्वारा यहाँ आज आयोजित कार्यक्रममा सिँचाइमन्त्री सञ्जय गौतमले कृतिको विमोचन गर्दै मुलुकमा सामाजिक सद्भाव तथा एकता कायम गर्न सो कृतिले मार्गनिर्देश गरेको विचार व्यक्त गर्नुभयो ।

उहाँले देशको सामाजिक प्रगति र जनताको आर्थिक रुपान्तरणका लागि अब स्रष्टाले रचना सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । वरिष्ठ चिकित्सक भोला रिजालले समाजभित्र एकआपसको मित्रतालाई देख्न नचाहने खराब तत्वसँग चनाखो हुनुपर्ने सन्देश कृतिमा पाइने बताउँदै कृति समाज सुधारका लागि प्रेरणादायी भएको बताउनुभयो ।

लेखिका रोकायले समाजमा विसंगति र विकृतिलाई न्यूनीकरण गर्न स्रष्टा एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

समीक्षक डा नारायण चालिसे, शिवपुरी साहित्य समाजका अध्यक्ष शंकर भारतीलगायतले सामाजिक संस्कृति तथा परिवेशले परिवारभित्र पार्ने सकारात्मक प्रभावका साथै परिवारभित्रको आन्तरिक द्वन्द्वले सामाजमा ल्याउने नकारात्मक असरलाई विषय बनाएर लेखिएको विचार व्यक्त गर्नुभयो ।

 

  • 51Read This News:
  • 511924Total reads:
  • 315128Total visitors: