पोखराको फेवातालमा जिप दुर्घटना, एकको मृत्यु, पाँच घाइते

कास्की, १५ साउन २०७४। पोखराको–वडा नं. १८, सेदीरातमाटे डाँडामा शनिबार राति जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

पोखराको पामेबाट लेकसाइडतर्फ आउँदै गरेको ग १ ञ ८७९ को जिप सडकबाट लगभग ४० मिटर फेवातालको किनारास्थित दलदले हिलोमा खस्दा भोजपुर दमना गाउँपालिका–९ बस्ने ३० वर्षीय रामप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइतेमध्ये भोजपुर आमचोक गाउँपालिका घर भई हाल पोखरा–१० बुद्धचोक बस्ने २५ वर्षीय विष्णु राई र दमना गाउँपालिका–९ का ३५ वर्षीय भक्तबहादुर राईको सघन उपचार कक्ष र सामान्य घाइते भोजपुरका ३० वर्षीय म्यान राई, २८ वर्षीय ज्ञानबहादुर राई र ४५ वर्षीय टीकाराम राईको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

पानी परिरहेको थियो राति करिब १० बजेको समयमा ठूलो आवाज आयो के भएछ भनेर बाहिर निस्किएर हेर्दा गाडी पानीमा उत्तानो भएको देखेपछि घटनास्थलमा गएर उद्धारमा लाग्यौँ स्थानीयवासी सुमन थापाले बताउनुभयो ।

“घटनास्थलमा पुग्दा दुईजना बाहिर हुनुहुन्थ्यो भने गाडीभित्रबाट पानी खाएको आवाज लगातार आइरहेको थियो तत्काल उद्धारमा लाग्यौँ”, उहाँले भन्नुभयो, “प्रहरी पनि समयमै आएको हुँदा बाँकी चारैजनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाउन सफल भयौँ ।”

जिप चालक भोजपुरका २४ वर्षीय विकास राईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।

 

  • 99Read This News:
  • 512717Total reads:
  • 315908Total visitors: