भारी परिमाणमा भारतीय रुपैयाँसहित दुई भारतीय पक्राउ

पर्सा, २३ जेठ २०७५ । भारी परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी भारत विहार पूर्वी चम्पारण बेलवा निवासी चितरञ्जन प्रसाद र विहारकै मोतियारी पलनवा निवासी रोहित केशरीलाई सार्वजनिक गरेको हो ।

वीरगञ्जको रजतजयन्ती चोकबाट ३१ लाख ८० हजार भारतीय रुपैयाँसहित दुबै जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेका थिए । ना २७ प ३८११ नम्बरको मोटरसाइकलमा चढेर रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका चितरञ्जन र केशरीलाई शंका लागेर चेकजाँच गर्दा २ हजार दरका १ हजार ५९० थान भारतीय नोटसहित प्रहरीले दुबै जनालाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

उहाँले बरामद रुपैयाँको स्रोत चितरञ्जन र केशरीले बताउन नसकेपछि आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धन विभाग हरिहर भवन काठमाडौँ पठाउन लागिएको जानकारी दिनुभयो ।

 

  • 23Read This News:
  • 481414Total reads:
  • 288797Total visitors: