बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक सफल आन्द्राको शल्यक्रिया

बाजुरा, २२ भाद्र २०७५ । बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएकोे हो ।

डा दुर्गाराज महर्जन नेतृत्वको टोलीमा रहनुभएका डा टीकाराम राई, राजेश वर्मा, चुणामणि पन्त, सुनिता गुरुङ र यशोदा थापाले साढे चार घण्टा लगाएर आन्द्राको शल्यक्रिया गरिएकोे अस्पतालका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।

उक्त अस्पतालमा डा दुर्गा महर्जन र डा टीका राई आएपछि हर्निया, हाइड्रोसिल, एपेन्डेकटोमी, पायल्स, सिएस (सिजिरियन्स सेक्सन) लगायतको शल्यक्रिया सस्तो मूल्यमा हुँदै आएको हो । हालसम्म २० भन्दा बढी शल्यक्रिया भइसकेको अस्पतालले जनाएको छ ।

अहिलेसम्म गरिएका शल्यक्रियामध्ये सबैभन्दा बढी अप्ठ्यारो यही भएको शल्यक्रियामा सहभागी डा. राजेश बर्माले बताउनुभयो । यसअघि जीर्ण भनव, साधन र स्रोतको अभावसँगै राम्रा चिकित्सक नबस्ने हुँदा जिल्लावासीले सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था थियो तर पछिल्लो समय धेरै चिकित्सक अस्पतालमा निरन्तर बस्ने गरेकाले बिरामीले शल्यक्रियासमेत जिल्ला अस्पतालमा सुलभ खर्चमा गर्न पाइरहेका छन् ।

जिल्ला अस्पतालमै यस्तो जोखिम खालको सफल शल्यक्रियाले आम बाजुरेली जनतामा खुशी छाएको छ । डा दुर्गा महर्जन र डा टीका राई पिछडिएको जिल्ला भनेर चिनिने यहाँका जनताको ढुकढुकी नै बन्नुभएको छ ।

डा महर्जनले यस्तो शल्यक्रिया गर्दा रु ५ लाखसम्म लाग्ने भए पनि रु पाँच हजारमै गरिदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ पैसाभन्दा पनि बिरामीको ज्यान बचाउनु पहिलो कर्तव्य थियो त्यसैले साधन स्रोतको अभाव, यातायाताको असहज भएको ठाउँमा पनि यस्तो जटिल खालका शल्यक्रिया घरदैलोमै हुनु भनेको बाजुरेलीका लागि खुशीको कुरा भएको छ ।”

 

  • 39Read This News:
  • 504501Total reads:
  • 307947Total visitors: