बलात्कार गरी हत्या गरेको आरोपमा एक महिलासहित ३ जना पक्राउ

महोत्तरी, ५ साउन २०७४। महोत्तरी जिल्लाको भंगहा गाउँपालिका–९ पोखरी टोलमा एक महिलालाई सामूहिक बलात्कार गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलासहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लोहारपट्टी गाउँपालिका–१ बस्ने प्रगास यादवका छोरा ४६ वर्षीय वरुणकुमार यादव, हनिफ कवारीका छोरा २८ वर्षीय जिवरुल राइन कवारी र भंगहा गाउँपालिका–९ बस्ने ललित दासकी पत्नी ३७ वर्षीया अमृतादेवी दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नुभएको छ ।

पक्राउ परेका तीनैजनाले ५/६ जनाको समूहमा भंगहा गाउँपालिका–९ बस्ने लक्ष्मण दासकी पत्नी ३५ वर्षीया शिलादेवी दासलाई गत वैशाख १९ गते राति ११ बजेको समयमा उनी आफ्नो घरमा सुतिरहेको अवस्थामा ढोका खोल्न लगाएर ढोका खोल्ने बित्तिकै मुख नाक बन्द गरेर घरभन्दा ४०० मिटर उत्तर खेतमा लगी ४/५ जनाले सामूहिक बलात्कार गरी उनको हत्या गरेको प्रहरी उपरीक्षक लम्सालले बताउनुभयो ।

चरम गरिबीका कारण विगत १५ वर्षदेखि पति लक्ष्मण दास वैदेशिक रोजगारीमा रहेका शिलादेवी दास छोरा बुहारीसँग घरमा सुतिरहेको अवस्थामा उनलाई अभियुक्त अमृता देवीले घरबाट बाहिर बोलाइकी थिइन् भने ४/५ जनाले उनको दुवै हात, खुट्टा बाँधेर पालैपालो बलात्कार गरेर उनलाई टाउकोमा इँटाले हानेर हत्या गरी फालिदिएको अवस्थामा प्रहरीले वैशाख २० गते बिहान ७ बजे उनकै बारीमा फेला पारेको थियो ।

पक्राउ परेका वरुणकुमार यादव र अमृतादेवी दासबीच अनैतिक शारीरिक सम्बन्ध रहेको र सो सम्बन्धबारे शिलाले जानकारी पाएपछि उनलाई दुवै जनाले रु १० हजार तिरेर भाडामा जिवरुल राईनलगायत अन्य ४/५ जना व्यक्तिलाई बोलाएर दुवै जनाले शिलाको सामूहिक बलात्कारपछि हत्या गराएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

घटना घटेको ३ महिनाभन्दा बढी भइसक्दा पनि गाउँमै बसिरहेका तीनैजनालाई प्रहरीले निक्कै ठूलो अनुसन्धानपछि मङ्गलबार पक्राउ गर्न सफल भएको हो भने यस घटनामा संलग्न अन्यको खोजतलाश भइरहेको र चाँडै समातिने प्रहरी उपरीक्षक लम्सालले बताउनुभयो ।

प्रहरीले तीनै जनामाथि जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान अगाडि बढाइसकेको प्रहरी उपरीक्षक लम्सालले बताउनुभयो ।

 

  • 37Read This News:
  • 485701Total reads:
  • 290559Total visitors: