प्रतिबन्धित मुलुकहरुको सूचिबाट इराक हट्ने

अमेरिका, १८ फागुन २०७३ । सातवटा मुस्लिम बाहुल्य मुलुकका नागरिकहरुलाई ४ महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने सम्बन्धि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करीब एक महिना अघि जारी गरेको कार्यकारी आदेशमा केही परिमार्जन गरी अर्को नयाँ आदेश आउन लागेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् ।

नयाँ आदेशमा अमेरिका प्रवेश गर्नबाट निषेधित मुलुकहरुको सूचिबाट इराकलाई हटाइने भएको छ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) र विदेश मन्त्रालयले दबाब दिएका कारण ट्रम्प प्रशासन यस्तो नयाँ कार्यकारी आदेश जारी गर्ने मनस्थिति र निर्णयमा पुगेको ४ जना अमेरिकी उच्च अधिकारीहरुले जनाएका छन् ।

आफ्नो नाम नबताउने शर्तमा यस बारे थोरै मात्र खुलासा गर्ने ती उच्च अधिकारीहरुले सो कार्यकारी आदेशमा राष्ट्रपतिको हस्ताक्षर भै नसकेकाले यसको विस्तृत जानकारी दिन नमिल्ने बताएका थिए ।

आतङ्ककारी इस्लामिक स्टेट्सका सशस्त्र लडाकू समूहबिरुद्ध लड्न इराक सरकारले मुख्य भूमिका निर्बाह गर्दै अमेरिकी सेनालाई निरन्तर सहयोग गरिरहेका हुँदा उक्त दुबै मन्त्रालयले ह्वाइट हाउसलाई आफ्नो पूर्व निर्णयमा पुनर्बिचार गर्न निरन्तर दबाबमूलक अनुरोध गरि रहेका थिए ।

नयाँ कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पले बिहीबार बिहानसम्म) हस्ताक्षर गर्नु हुने अपेक्षा गरिएको छ । राष्ट्रपतिको हस्ताक्षर भै सकेपछि यस नयाँ आदेशले अमेरिकी संघीय अदालतमा मुद्दा चलेपछि रोकिन पुगेको पुरानो आदेशलाई प्रतिस्थापन गर्नेछ ।
अमेरिका प्रवेश गर्नबाट निषेधित सूचिका मुस्लिम बाहुल्य अन्य ६ वटा मुलुकहरुः इरान, सोमालिया, लिबिया, सुडान, सिरिया र यमनलाई भने प्रतिबन्ध कायमै रहने छ ।

 

  • 38Read This News:
  • 509124Total reads:
  • 312410Total visitors: