पुस मसान्तसम्म कर्मचारी समायोजन गरिने

काठमाडौँ, २३ साउन २०७५ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पुस मसान्तसम्म संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन हुने बताउनुभएको छ । आज मन्त्री निवास ललितपुरमा पत्रकारसँग कुराकानी गदै उहाँले तिनै तहको स्वीकृत दरबन्दीअनुसार पुस मसान्तसम्म कर्मचारी समायोजन हुने बताउनु भएको हो ।

सङ्घीय निजामती सेवा ऐन मन्त्रिपरिषद्बाट चाँडै लगेर संसदवाट पारित गराएपछि समायोजनको काम शुरु हुने बताउनुभयो, ‘‘संसदवात हामी चाँडै नै पास गराउने तयारीमा रहेका छौँ’’ उहाँले भन्नुभयो–‘‘यही संसदवाट पारित गराउन ढिलाइ भएर संसद् नबसेको खण्डमा अध्यादेशमार्फत पनि ल्याउछौँ ।’’

मन्त्री पण्डितले प्रशासनका सुधार गर्न आफू प्रतिबद्ध रहेको भन्दै अवकाशको उमेर पुग्न थालेको कर्मचारीको राजीनामा स्वीकृत नगरिने स्पष्ट पार्नुभयो । ‘‘केही कर्मचारी आर्थिक लोभले अवकाशको समय पुग्न लाग्दा एक दिन पहिले राजीनामा दिने प्रचलन रहेको छ’’ उहाँले भन्नुभयो, ‘‘अब यस्तो व्यवस्थालाई निरुत्साहित गराइनेछ ।’’

स्थानीय तहमा पनि चाँडै नै सबै कर्मचारी पुग्ने भन्दै उहाँले शारीरिक रुपमा अशक्त र विशेष परिस्थितिका कर्मचारीलाई पायक पर्ने ठाउँमा सरुवा गरिने बताउनुभयो । उहाँले संघको सेवा घटाउँदै प्रदेश र स्थानीय तहलाई बढी जिम्मेवार समेत बनाइनेछ भन्नुभयो ।

मन्त्री पण्डितले कर्मचारीतन्त्रमा काम नगर्ने प्रवृति रहेको भन्दै त्यस्ता कर्मचारीलाई कारवाही गरिने जानकारी गराउनुभयो । उहाँले निजामती कर्मचारीको एकमात्र आधिकारिक ट्रेड युनियन मात्र रहने भन्दै अन्य ट्रेड युनियन खारेज गरिने समेत बताउनुभयो ।

 

  • 53Read This News:
  • 482293Total reads:
  • 288983Total visitors: