नेपालको महिला सहभागिता विश्वकै लागि अनुकरणीय–प्रम

काठमाडौँ, २५ फागुन २०७३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणको क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले भन्नुभयो “जनयुद्ध, जनआन्दोलनलगायत परिवर्तनका सबै आन्दोलनमा नेपाली महिलाले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।”

प्रधानमन्त्री प्रचण्डले मुलुकको विकासका लागि जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगट्ने महिलाको समान सहभागिता अत्यन्त जरुरी रहेको उल्लेख गर्दै संविधानमा महिलाको हकलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको बताउनुभयो ।

संविधानमा नै महिलाको ३३ प्रतिशत व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल पर्न सफल भएको भन्दै उहाँले एक दशक अघिदेखि सुरू भएको रोजगारीमा महिलाका लागि आरक्षणको व्यवस्थाले महिलाको प्रतिनिधित्व बढाउनुका साथै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ– आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाले अवसर प्राप्त गर्ने गरी रोजगारी वृद्धि गर्नु आवश्यक रहेको छ ।

“सरकारले आगामी वैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय तहको निर्वाचनले हजारौँ महिला निर्वाचित भई राजनीति र विकासमा महिलाको योगदान उच्च हुने विश्वास लिएको छु उहाँले भन्नुभयो ।”

प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ – सन् २०१० देखि महिला विरुद्धको हिंसाको मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले पाँचवर्षे ‘लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०६९/०७०–२०७३/०७४’ कार्यान्वयनमा ल्याई केन्द्र तथा स्थानीयस्तरमा विभिन्न संयन्त्रमार्फत् आवश्यक सेवा प्रवाह भइरहेको छ ।

महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न तथा महिला सशक्तीकरण गर्ने सरकारको अभियानमा सबै एक भएर लाग्नसमेत प्रधानमन्त्रीले सबैसँग आग्रह गर्नुभएको छ ।

 

  • 78Read This News:
  • 483791Total reads:
  • 289421Total visitors: