अरब राष्ट्रका ६ मुलुकद्वारा कतारसँग कुटनैतिक सम्बन्ध विच्छेद

साउदी अरब, २३ जेठ २०७४ । साउदी अरब इजिप्टसहितका केही अरब राष्ट्रले सोमबारदेखि कतारसँगको कुटनैतिक सम्बन्ध तोडेको बताएका छन् ।

आतङ्कवादलाई सघाएको र अरब क्षेत्रमा शान्ति तथा अमन चैन समस्या ल्याएको आरोप लगाउँदै साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन् ।

इजिप्टसहित अरब राष्ट्रका विभिन्न ६ मुलुकले आफ्ना यातायातका सेवालाई पनि कतारबाट अलग बनाउने जनाएपछि पेट्रोलियम पदार्थका लागि धनी राष्ट्र कतारलाई समस्या परेको देखिएको छ । कतारले अधिकांश सामान यी राष्ट्रबाट वा यिनै मुलुक भएर भित्र्याउने गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गरी रियादले कतारले आतङ्कवादी समूह र पृथकतावादी कट्टरपन्थी मुसलमानलाई सघाउँदा समग्र अरब क्षेत्रको शान्ति तथा सुरक्षामा समस्या आएको जनाएको छ । अरबले मुस्लिम ब्रदरहुड दाएस (आईएस) र अल कायदा समूहलाई सहयोग गरिरहेको अरब अरवी मुलुकको आरोप छ ।

यसैबीच कतारले आतङ्कवाद वा इरानलाई सघाउने गरी आफ्नो मुलुकबाट कुनै पनि गतिविधि नभएको बताउँदै कतारमाथि लगाइएका सबै आरोपको खण्डन गरेको छ ।

छिमेकी अरब राष्ट्रहरूले लगाएको आरोपको खण्डन गर्दै कतारी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी कतारमाथि लगाइएका आरोप झुटा र आधारहीन भएको दाबी गरेको छ ।

सम्बन्ध विच्छेद गराउनुको अर्थ कतारलाई अरूमाथि निर्भर बन्ने अवस्थाको सिर्जना गर्नु रहेको बताउँदै कतारी प्रशासनले आवश्यक पर्ने सबै उपायलाई अवलम्बन गरी अघि बढ्ने बताएको छ ।

कतार पछिल्लो निर्णयबाट आफूमाथि पर्नसक्ने सबै प्रभावलाई साम्य गर्दै अघि बढ्नेछ, विज्ञप्तिमा भनिएको छ ।

कतारले आफ्नो समाज र अर्थतन्त्रलाई तहसनहस पार्ने षडयन्त्रबाट अरब राष्ट्रहरूको पछिल्लो निर्णय आएको दाबी गरेको छ ।

 

  • 83Read This News:
  • 485710Total reads:
  • 290563Total visitors: