पुराना दलबाट मुलुकले निकास पाउँदैन

रुपन्देही, १० फागुन २०७४ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउन नसक्ने बताउनुभएको छ ।

नयाँ विचारका साथ अगाडि बढ्न नसके मुलुक थप संकटमा फस्न सक्छ, बुद्ध जन्मस्थल लुम्बिनीमा वुधवारदेखि शुरु भएको संघीय परिषद्को चौथो बिस्तारित बैठकमा उहाँले भन्नुभयो —“मुलुकको विकास र समृद्धिका लागि नयाँ सोच र परिवर्तनलाई आत्मसात गर्ने दलको खाँचो छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता भट्टराईले भर्खरै सम्पन्न चुनावमा पुराना राजनीतिक शक्तिले जीत हासिल गरे पनि त्यसले देशलाई निकाश दिन नसक्ने उल्लेख गर्र्दै केही वर्ष सत्तामा हालीमुहाली गरे पनि नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीले मुलुकलाई दुर्घटनामा पार्ने खतरा रहेको आरोप लगाउनुभयो ।

“मैले देखिरहेको छु, यी दलले मुलुकलाई पार लगाउँदैन”, उहाँले भन्नुभयो, “यी दुबै पार्टीले गर्न नसक्ने काम हामीले गरेर देखाउछौँ ।”

“सही विचार लिने कहिलेकाहीँ एक्लै पर्छ, गौतमबुद्ध पनि ६ जनाको टोली बनाएर ध्यानमा बसेका थिए, ५ जनाले छाडेपछि उनी एक्लै भए, आफ्ना पिता राजाले ९ पटक बोलाउँदा पनि उनी गएनन्, बरु दूतलाई नै आफ्नो विचारमा सहमत गराए,” नेता भट्टराइले भन्नुभयो, “पुराना शक्तिबाट हामीलाई पनि नबोलाइएको होइन तर हामी लोभमा फस्दैनौँ ।”

फागुन १२ गतेसम्म चल्ने परिषद् बैठकले पार्टीको भावी रणनीति तथा कार्यक्रम तय गर्ने सो पार्टीका प्रदेश नं ५ का संयोजक दानबहादुर चौधरीले बताउनुभयो ।

नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराईले स्टेजमा राखिएको बोधि वृक्षमा जल सिंचित गरेर संघीय परिषद्को चौथो बिस्तारित बैठक उद्घाटन गरिएको थियो ।

सो अवसरमा उहाँले भगवान् बुद्धले जसरी लुम्बिनीबाट विश्वमाझ शान्तिको सन्देश छर्नुभएको छ, हामीले पनि यहीबाटै नयाँ विचार स्थापित गरी देशलाई सही निकास दिनेछौँ भन्नुभयो ।

 

  • 27Read This News:
  • 482051Total reads:
  • 288962Total visitors: