अमेरिकी राष्ट्रपतीय निर्वाचनमा प्रभावित पार्ने रुसीका राजनितिज्ञ तथा व्यापारीको सूची सार्वजनिक

अमेरिका, १७ माघ २०७४ । गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेको छ ।

ती व्यक्तिमाथि नाकाबन्दी लगाइने बताइएको छ । त्यस सूचीमा संलग्न व्यक्तिलाई अमेरिकाले ‘पुटिन सूची’ भनेर नाम पनि दिएको छ । तर त्यो कस्तो नाकाबन्दी हो भन्ने बारेमा भने केही बताइएको छैन ।

अमेरिकी आर्थिक विभागले सो सूची सार्वजनिक गरेको बताइएको छ । त्यस सूचीमा ११४ जना राजनीतिक नेता र ९६ जना व्यापारी रहेका छन् ।

तीमध्ये सबैजसो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहयोगी समूहका सदस्यहरु हुन् । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ती व्यक्तिहरुले वर्तमान राष्ट्रपतिका पक्षमा प्रभाव पार्ने काम गरेका बताइएको थियो ।

ती व्यापारीहरुको व्यापार र व्यक्तिमाथि पनि आर्थिक प्रतिबन्धहरु लगाउन सकिने भन्दै सो सूची प्रकाशन गरिएको समाचारमा जनाइएको छ ।

अमेरिकामा सम्पन्न सो निर्वाचनमा रुसको घुसपैठ रहेको समाचारले अमेरिकामा निकै ठूलो चर्चा पाइरहेको छ । रुसले त्यस समयका अर्का प्रत्यासी हिलारी क्लिन्टनलाई हराउन चलखेल गरेको बताउँदै आइएको छ ।

तर यस आरोपको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने खण्डन गर्दै आउनुभएको छ । उहाँले आफ्नो जितका लागि रुसको प्रभाव थियो भन्ने कुरामा कुनै सत्यता नभएको बताउनुभएको छ ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपहरुबारेमा छानबिन गरिरहनुभएका अमेरिकी एफबिआइका उपनिर्देशकको राजिनामा आएकै दिन यता अमेरिकाले यो सूची पनि सार्वजनिक गरेको छ ।

उक्त निर्वाचनमा रुसले हस्तक्षेप गरेको भनी आउने समाचारहरुको राष्ट्रपति ट्रम्पले सधैँ खण्डन गर्ने गर्नुभएको छ । उहाँमाथि यस विषयमा थप सोधपुछ गरिने बताइएको छ ।

 

  • 30Read This News:
  • 406513Total reads:
  • 219855Total visitors: