राष्ट्रपति भण्डारीबाट दुबई वाटर क्यानलको अवलोकन

संयुक्त अरव इमिरेटस, ३० कात्तिक २०७४ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दुबई वाटर क्यानलको अवलोकन गर्नुभयो ।

मानव निर्मित उक्त दुबई वाटर क्यानल (नहर) पुग्दा युएईका शिष्टाचार अधिकारीहरूले उहाँलाई दुबई क्यानल म्यारिनमा स्वागत गर्नुभएको थियो ।

सन् २०१३ मा खुला गरिएको तथा सन् २०१६ को नोभेम्बर ९ मा उद्घाटन भएको र दुबईको बजार केन्द्र, ४ होटेल, ४५० रेस्टुराँ, उच्चस्तरीय हाउजिङ भएर बग्ने उक्त क्यानलमा पैदल तथा साइकल मार्ग पनि छन् ।

यस क्यानलको चौडाइ ८० देखि १२० मिटरसम्मको छ र यो ६ मिटर गहिराइको छ । ८ मिटर अग्लो पुल भएर बग्ने गरी यस क्यानलको संरचना तयार गरिएको छ । यस क्यानलले करिब ८० हजार वर्गमिटर क्षेत्र ओगटेको छ र यसले निजी जहाज तथा डुंगालाई व्यवसाय गर्न दिएको छ ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द, नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत सइद हमदन अलनक्वी, युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन, राष्ट्रपति भण्डारीकी छोरी निशाकुसुम भण्डारीका साथै भ्रमण टोलीका अन्य सदस्यहरु पनि सहभागी हुनुहुन्थ्यो ।

 

  • 43Read This News:
  • 459341Total reads:
  • 268861Total visitors: