तिलगंगा आँखा प्रतिष्ठानमा केमोथेरापी सेवा शुरु हुने

काठमाडौँ, २४ कात्तिक २०७४ । तिलगंगा आँखा प्रतिष्ठानमा ‘केमोथेरेपी’ सेवा शुरु हुने भएको छ ।

आँखाका क्यान्सरका बिरामीका लागि अत्यावश्यक ‘केमोथेरापी’ सेवा नहुँदा बिरामीलाई असुविधा भएपछि अस्पतालले सो सेवा शुरु गर्न लागेको हो ।

अस्पतालका क्यान्सर विभागका प्रमुख एंव आँखा क्यान्सर विशेषज्ञ डा पूर्णिमा राजकर्णिकार स्थापितले केमोका लागि बाहिर बिरामी पठाउँदा उनी फर्केर नआउने, उपचार बीचमै छाड्ने र फ्लोअप जाँचमा नआउने क्रम बढ्दै गएपछि अबको एक महिनापछि सेवा शुरु गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आँँखाका क्यान्सर भएका बच्चाका लागि कान्ति बालअस्पतालमा पठाउने गरिएको छ, त्यहाँ पुगेका बिरामी धेरै फर्केर आउदैनन्, हाम्रो निगरानीमा नै उपचार गर्न तिलगंगामा नै यो सेवा शुरु गर्न लागेका हौँ ।’’

एकजना नर्सले तालीम लिएर आइसक्नुभयो, अन्य भौतिक पूर्वाधार निर्माण पनि करिब अन्तिमचरणमा पुगिसकेको छ उहाँले भन्नुभयो —“क्यान्सरका बिरामीले पाउने एक लाखसम्मको उपचार सुविधा पनि शुरु गर्ने विषयमा काम भइरहेको छ ।”

‘‘केमो थेरापी गर्नुअघि बेहोस् पारेर हेर्ने मेसिन र रेट क्याम मेसिन (ट्युमर हेर्ने, कति बाँकी छ, पूरै हटेको छ वा छैन, नहटेको भए हटाउने मेसिन) पनि हामीले ल्याउँदैछौं, जुन मेसिन नेपालमै पहिलो पटक प्रयोगमा आउनेछ,’’ आँखा क्यान्सर विशेषज्ञ डा स्थापितले भन्नुभयो । यो मेसिन जर्मनस्थित एक फाउन्डेशनले दान गर्न लागेको जनाएको छ ।

 

  • 47Read This News:
  • 504465Total reads:
  • 307911Total visitors: