११ अर्बरुपैयाको भ्रष्टाचार दाबीसहित शर्माविरुद्ध मुद्दा

काठमाडौँ, ३० असार २०७४। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध झण्डै रु ११ अर्ब भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गर्ने निर्णय गरेको छ ।

आयोगले कर फछ्र्योट आयोगका दुई सदस्य लुम्बध्वज महत र उमेश ढकाललाई पनि भ्रष्टाचारको अभियोगमा विहिवार मुद्दा दर्ता गर्ने निर्णय गरेको छ । यो आयोगको इतिहासमै सबैभन्दा ठूलो भ्रष्टाचारसम्बन्धी विषय हो । आयोगका उच्च अधिकारीका अनुसार कर फछ्र्यौटसम्बन्धी ४५ फाइलको अध्ययन गर्दा रु १० अर्ब ९५ करोड भ्रष्टाचार भएको ठहरसहित शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिएको हो ।

“आयोगको निर्णयलगत्तै विहिवारनै मुद्दा दर्ता गर्ने तयारी गरिएको थियो तर समय अभावका कारण आजका लागि सरेको छ”, आयोगका ती अधिकारीले भने, “हाल अध्ययन भइरहेको फाइलबाट झण्डै रु ११ अर्बको भ्रष्टाचार भएको देखिएको छ । अरु फाइल अध्ययन गर्दा थप भ्रष्टाचारको विवरण आउन सक्ने अनुमान छ ।”

तत्कालीन कर फछ्र्योट आयोगका सदस्यद्वय महत र ढकाल भने हाल फरार छन् । आयोगले कर फछ्र्योटसम्बन्धी भएका निर्णयको समग्र पक्षको अध्ययन गरिरहेको छ ।

 

  • 34Read This News:
  • 482994Total reads:
  • 289081Total visitors: