चीन, २२ बैशाख २०७४। चीनमै पहिलो पटक उत्पादित सवैभन्दा ठुलो जेट विमानले चिनियाँ आकाशमा पहिलो परीक्षण उडान भर्ने भएको छ ।
१सय ५८ सीट क्षमताको सि–९१९ मोडेलको उक्त जेट विमानले राजधानी बेइजिङ्ग पछिको चीनकै विशाल महानगर साङ्घाईबाट शुक्रबार अपरान्ह पहिलो परीक्षण हवाई यात्रा गर्ने जनाइएको छ । स्वराष्ट्रमै निर्मित ठूलो जेट बिमानको उद्घाटन उडान हेर्न ठूलो सङ्ख्यामा चिनियाँ तथा बिदेशीहरु साङ्घाई विमानस्थलमा भेला भएका छन् ।
चीनले टर्बोप्रप इन्जिन भएका छोटो दूरीका साना खाले विमानहरु हजारौंको सङ्ख्यामा तथा जेट इन्जिन भएका मध्यम दूरीका साना खाले जेट विमानहरु सयौंंको सङ्ख्यामा निर्माण गरी बिश्वका धेरै एयरलाइन्सहरुलाई बिक्री गरिसकेको छ ।
यस सि–९१९ मोडेलको ठूलो जेट विमान सन् २०१४ मै उत्पादन भए लगत्तै परीक्षण उडान गर्दा बिभिन्न प्रकारका उत्पादकीय तथा प्राबिधिक समस्या देखिएकाले, सन् २०१६ सम्म डेलिभरी लिने गरी प्रशस्त अर्डर आईसके ता पनि आपूर्ति गर्न ढिलाई गरिएको थियो । हाल, उक्त सबै उत्पादकीय तथा प्राविधिक समस्या सच्याई पुनः पहिलो पटक ब्यापारीक हिसाबले परीक्षण उडान गर्न लागिएको हो ।
तुलनात्मक रुपमा सस्तोमा उपलब्ध गराउन सकिने भएकाले, यस विमानले फ्रान्समा निर्माण गरिँदै आएको ए–३२० मोडलको एयरबस जेट तथा अमेरिकामा निर्माण गरिँदै आएको बि–७३७ मोडलको बोइङ्ग जेट जस्ता विमानहरुसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।
यस सि–९१९ जेट विमान चीनको सरकारी लगानीको विमान उत्पादक कम्पनी कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक) ले निर्माण गरेको हो ।
हालसम्म, स्वदेशी तथा विदेशी समेत गरी २३ वटा विमान सेवा कम्पनीले यस्तो ५सय ७० वटा बिमान खरीदका लागि अर्डर दिइ सकेका छन् । अर्डर गर्ने कम्पनीहरुमा एयर चाइना तथा जिइ क्यापिटल एभिएसन सभिर्सेज् जस्ता बृहत लगानीका ठूला कम्पनीहरु पनि रहेका जनाइएको छ ।


