पश्चिमी वायु सक्रिय: तीन दिन बदली र वर्षा हुने

काठमाडौँ, ३ माघ २०७५ । पश्चिमी वायुको प्रभावले आगामी ३ दिनसम्म बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौमसविद् राजु प्रधानाङ्गले कमजोर रुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले बदलीसँगै हल्का वर्षा गराउने बताउनुभयो ।

उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म जारी रहने र आइतबारदेखि मौसममा सुधार आउने उहाँको भनाइ थियो । अघिल्लोपटक देखापरेको पश्चिमी वायुले तीन दिनसम्म देशैभर बदली र वर्षा गराएको थियो । उक्त प्रणाली कमजोर भएको चारदिनमै पुनःपश्चिमी वायु नेपालको आकाशमा देखापरेको हो

काठमाडौँ उपत्यकामा ३÷४ दिनयता घाम लागेकाले केही न्यानो महसुस गरिए पनि पश्चिमी वायुको प्रभावले विहिवार देखि हल्का बदली भएका कारण काठमाडौँमा केही चिसो बढाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार हिजो डडेलधुरामा ७, वीरेन्द्रनगरमा ५ र दाङमा १ मिलिमिटर वर्षा भएको थियो ।

यसैबीच महाशाखाले आगामी ३ दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै गए राति देखी देशको अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका अधिकांश स्थानमा र मध्य तथा पूर्वी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना औँल्याएको छ । उच्च पहाडी र हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आज शुक्रबार देशभर सामान्यतया बदली रहनेछ भने पश्चिमी भेगका अधिकांश र मध्य र पूर्वका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

आगामी ४ गते शनिबार पनि देशका अधिकांश स्थानमा बदली र पश्चिम, पूर्वी तथा मध्य नेपालका पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

 

  • 37Read This News:
  • 459150Total reads:
  • 268690Total visitors: