तस्बीरमा सगरमाथा नियाल्दा

नेपाल पर्यटन बोर्डमा सगरमाथा आरोहण गर्ने महिला पत्रकारका टोलीले आयोजना गरेको फोटोप्रर्दशनी अवलोकन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य ।

काठमाडौँ,  ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८’ टोलीले सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा कैद गरेका आकर्षक एवं मनमोहक तस्बीरको प्रदर्शनी गरिएको छ ।

सोह्रौ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) को अवसरमा नेपाल पर्यटन बोर्डको ‘फोटो नेपाल’ कार्यक्रमअन्तर्गत बोर्ड परिसरमा गत शुक्रबारदेखि प्रदर्शनी आयोजना गरिएको हो । ‘वुमन अन टप’ शीर्षकमा सगरमाथा आरोहण क्रममा लोबुचे ४,९४० मिटर क्षेत्रदेखि समिट ८,८४८ मिटर सम्मका विभिन्न ५० तस्बीर प्रदर्शनीमा राखिएको छ । चर्चित खुम्बु आइसफल, आरोहण शिविरदेखि आरोहीका गतिविधि र अवस्थितिबारे तस्बीरमा उजागर गरिएको छ ।

उक्त प्रदर्शनीको आइतवार प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्यले उत्सुकतापूर्वक अवलोकन गर्नुभयो । संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक भ्यालेरी जुलियाण्डले प्रदर्शनीको अवलोकन गर्दै महिलाको उच्च सफलताले अत्यन्त प्रभावित भएको र उनीहरुप्रति सधैँ सम्मान रहेको उल्लेख गर्नुभएको छ ।

हिमाल आरोहण र पदयात्राबारे विद्यार्थी र युवा पुस्तामा प्रोत्साहन गर्ने लक्ष्यका साथ ‘स्कुल अफ क्रियटिभ कम्युनिकेसन’ले संयोजन गरेको प्रदर्शनी आगामी मङ्गलबारसम्म चल्नेछ । महिला पत्रकारको टिमले सगरमाथाको सफल आरोहण गरेपछि महिलाको स्थान उच्च छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले प्रदर्शनी गरिएको आरोहण दलकी सदस्य पत्रकार रोशा बस्नेतले जानकारी दिनुभयो ।

प्रथम महिला सगरमाथा आरोहण टोलीका रोशा बस्नेत, कल्पना महर्जन, देउराली चाम्लिङ्ग र रोजिता बुद्धाचार्यले गत जेठ ९ गते सर्वोच्च शिखरको सफल आरोहण गर्नुभएको थियो । बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीकाअनुसार किम्फको अवसरमा महिला पत्रकारले कैद गरेका तस्बीरको प्रदर्शनी आयोजना गरिएको हो । तस्बीरले सगरमाथाको भौगोलिक अवस्था, वातावरणीय प्रभाव र गतिविधिबारे जानकारी दिएको उहाँले उल्लेख गर्नुभयो । बोर्डले अङ्ग्रेजी महीनाको पहिलो शुक्रबार प्रदर्शनी गर्दै आएको छ । फोटोमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बोर्डले विगत तीन वर्षदेखि फोटो प्रदर्शनी गर्दै आएको छ ।

 

  • 33Read This News:
  • 408660Total reads:
  • 221890Total visitors: